हेटौँडा असोज २० गते । सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले दसैँ–तिहार नजिकिँदै गर्दा हेटौँडा बजारमा दर्ताबिनाका फुटपाथ पसल, ‘सेल–सेल’ भन्दै हुने माइकिङ तथा भत्केका र जोखिमयुक्त घरबाट भइरहेको व्यापारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
महतले सामाजिक सञ्जाल फेसबुक मार्फत हेटौँडा उपमहानगरपालिका र उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराउँदै बजार क्षेत्रमा व्यवसाय सञ्चालनका क्रममा समान नियमको कार्यान्वयन र सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गरेका हुन्।
उनले स्थानीय व्यापारीले व्यवसाय दर्ता गर्ने, नियमित कर तिर्ने र पसलका लागि भाडा बुझाउने गरेको उल्लेख गर्दै दर्ता तथा कर तिर्ने व्यवसायीको व्यवसाय सुरक्षित राख्ने जिम्मेवारीसमेत सम्बन्धित निकायको भएको बताएका छन्।
त्यस्तै, जोखिमयुक्त घरमा व्यापार सञ्चालन भइरहँदा त्यस्ता स्थानमा सामान खरिद गर्न जाने नगरबासीको सुरक्षाको जिम्मेवारी कसको भन्ने प्रश्नसमेत महतले उठाएका छन्। उनले सम्भावित दुर्घटना भएपछि अनुगमन गर्नुको सट्टा दुर्घटना हुनुअघि नै बजार तथा व्यवसायिक क्षेत्रको अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।
महतले नगरपालिका र उद्योग वाणिज्य संघको भूमिका कर उठाउने विषयमा मात्रै सीमित नभई बजारमा समान नियम लागू गर्ने, सुरक्षित बजारको वातावरण बनाउने र व्यवसायीका गुनासा सुन्नेतर्फ पनि केन्द्रित हुनुपर्ने बताएका छन्।
दसैँ–तिहारजस्ता प्रमुख चाडपर्वको समयमा बजारमा व्यापारिक गतिविधि बढ्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। उनले नियम सबै व्यवसायीका लागि समान हुनुपर्ने र व्यापारी तथा नगरबासी दुवैको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

















