हेटौंडा, कार्तिक १४ गते । निरन्तर वर्षाका कारण कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुलेखानी–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक खण्डमा १२ घण्टाका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बङ्गालको खाडीमा बनेको अर्नब चक्रवातका कारण जिल्लामा गएको कार्तिक १२ गतेदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण आज साँझ करिब ४ बजेसम्ममा कुलेखानी जलाशयको जलसतह १ हजार ५२९ मिटरको खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ।
जलाधार क्षेत्रमा आज राति वा भोलिसम्म अप्रत्याशित रूपमा भारी वर्षा भएमा जलाशयको सुरक्षा तथा पानीको सतह सन्तुलन कायम राख्न बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ।
बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आएमा मुख्य ड्यामको तल्लो क्षेत्र, सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले उक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले आज रातिको समयमा नदी तथा खोलाको किनारमा नजान, सम्भावित जोखिमयुक्त स्थानबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसैगरी, बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म कुलेखानी–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जारी गरिएको सूचनाको पूर्ण पालना गर्न, सोहीअनुसार सवारी साधन सञ्चालन तथा यात्रा व्यवस्थापन गर्न र अनावश्यक जोखिम नलिन सम्बन्धित सबैमा आग्रह गरेको छ।


















