हेटौँडा, कार्तिक १५ गते । श्रम संस्कृति पार्टीले आफ्नो प्रथम वार्षिकोत्सव भोलि सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा मकवानपुरमा पनि जिल्ला समितिले पार्टी कार्यालय संगमचोकमा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामा बज्यूले आज फेसबुक लाइभमार्फत पार्टीको प्रथम वार्षिकोत्सवका कार्यक्रमबारे जानकारी दिँदै मकवानपुर जिल्लामा हुने कार्यक्रमबारे सार्वजनिक गरेका हुन्।
लामाका अनुसार मकवानपुर जिल्ला समितिको आयोजनामा भोलि साँझ ठीक ५ बजेदेखि हेटौँडा उपमहानगरपालिका–स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा दीप प्रज्वलन कार्यक्रम हुनेछ। त्यसैगरी जिल्लाभरिका विभिन्न स्थानीय तहमा पनि पार्टीका स्थानीय प्रतिनिधिहरूको सहभागितामा एकै समयमा दीप प्रज्वलन गरी वार्षिकोत्सव मनाइनेछ।
वार्षिकोत्सव कार्यक्रममा जिल्ला समितिले गत एक वर्षको अवधिमा गरेका गतिविधि तथा कार्यसम्पादन समेटिएको वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने तयारी गरेको छ। कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ – आफ्नो मन्तव्य राख्ने कार्यक्रम समेत रहेको लामाले जानकारी दिएका छन्।
यसैगरी, श्रम संस्कृति पार्टीमा आबद्ध हुन इच्छुक माटोप्रेमी तथा श्रमप्रेमी व्यक्तिहरूलाई वार्षिकोत्सवकै अवसरमा पार्टी प्रवेश गराउने कार्यक्रम समेत राखिएको छ। पार्टी प्रवेश गर्ने नयाँ सदस्यहरूलाई सोही दिन सदस्यता कार्ड उपलब्ध गराइने लामाले जानकारी दिएका छन्।
फेसबुक लाइभमार्फत लामाले पार्टीको वार्षिकोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन माटोप्रेमी, श्रमप्रेमी, सहयोगी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन विशेष आग्रह गरेका छन्। विशेषगरी हेटौँडा उपमहानगरपालिका तथा आसपासका क्षेत्रमा रहेका श्रमप्रेमीहरूलाई संगमचोकस्थित पार्टी कार्यालयमा उपस्थित हुन उनले अपिल गरेका छन्।
त्यसैगरी, मकवानपुरमा क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई पनि वार्षिकोत्सव कार्यक्रममा सहभागी भई कार्यक्रमको समाचार सम्प्रेषण गरिदिन लामाले आग्रह गरेका छन्।
पार्टीको प्रथम वार्षिकोत्सवलाई संगठनको एक वर्षे गतिविधिको समीक्षा, आगामी कार्यदिशाबारे छलफल तथा नयाँ सदस्यहरूलाई संगठनमा स्वागत गर्ने अवसरका रूपमा मनाउन लागिएको जिल्ला इन्चार्ज लामाले बताएका छन्।

















