मकवानपुरमा ई–सेवा र खल्तीमार्फत ठगी बढ्दै, नागरिकको आर्थिक सुरक्षाप्रति सामाजिक अभियन्ता महतको चिन्ता

हेटौँडा, कार्तिक १७ गते । मकवानपुरमा ई–सेवा र खल्तीजस्ता डिजिटल भुक्तानी सेवामार्फत ठगीका घटना बढ्दै गएकोप्रति सामाजिक अभियन्ता विशालराज महतले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष समेत रहेका महतले डिजिटल कारोबारका नाममा नागरिकको रकम ठगी भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा मकवानपुरमा ई–सेवा र खल्ती मार्फत करोडौँ रुपैयाँसम्म ठगी भएको घटना प्रहरीको जानकारीमा रहेको उल्लेख गरेका छन्। उनका अनुसार आज मात्रै २ लाख रुपैयाँ ठगी भएको विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर जानकारी लिँदा अवस्था गम्भीर रहेको पाइएको छ।

यस विषयमा चासो राख्दै आवश्यक जानकारी, प्रतिक्रिया तथा थप पहलका लागि सहयोग गरेको भन्दै महतले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको सूचना प्रविधि (आईटी) शाखालाई धन्यवाद समेत दिएका छन्।

डिजिटल कारोबारको बढ्दो प्रयोगसँगै ठगीका घटनाले नागरिकको आर्थिक सुरक्षा मात्र नभई डिजिटल भुक्तानी सेवा प्रतिको विश्वासमा समेत असर पार्न सक्ने उनको भनाइ छ। यस्ता घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा नागरिकलाई डिजिटल ठगीबाट जोगाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याएका छन्।

महतले सम्बन्धित सरकारी निकाय तथा डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई यस्ता घटनाको नियन्त्रण, अनुसन्धान र रोकथामका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

साथै, आम नागरिकलाई डिजिटल कारोबार गर्दा अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, ओटीपी, पिन तथा गोप्य विवरण कसैलाई नदिन र कारोबार गर्नुअघि आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

‘सचेत नागरिक, सुरक्षित डिजिटल कारोबार’ भन्ने सन्देशसहित महतले नागरिकको आर्थिक सुरक्षा र न्यायका पक्षमा आफ्नो आवाज निरन्तर उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.