खोटेहाङमा जातीय विभेद न्यूनीकरणको प्रयास,अन्तरजातीय विवाह गर्ने जोडी भए सम्मानित

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाले एउटा उदाहरणीय कार्य गरेको छ। गाउँपालिकाले जातीय पर्खाल भत्काउँदै प्रेमको डोरीमा बाँधिएका ४० जोडीलाई सम्मान गरेको छ। फरक-फरक समुदायबाट आएर पनि जीवनसाथी बनेका यी जोडीहरूलाई गाउँपालिकाले प्रोत्साहनस्वरूप नगद सहित सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट यो सम्मान गरिएको जानकारी दिए। उनले भने, “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ। सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ। हाम्रो पालिकामा फरक-फरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन्। उनीहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको हो।”

गाउँपालिकाको कार्यालय खोटेहाङले विभिन्न वडाका ४० जोडीलाई सम्मान गरेको विवरण सार्वजनिक गरेको छ। वडा नं १ लिकुवापोखरीका चार, वडा नं २ वाप्लुखाका एक, वडा नं ३ सावाकटहरेका चार, वडा नं ४ बडकादियालेका चार जोडी सम्मानित भएका छन्। त्यसैगरी, वडा नं ६ इन्द्रणीपोखरीका छ, वडा नं ७ खोटाङबजारका एक, वडा नं ८ सिम्पानीका ११ र वडा नं ९ लिच्कीराम्चेका नौ जोडीलाई पनि सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिए। उनले वडा नं ५ चिप्रिङमा पनि केही समयपछि अर्को चरणको कार्यक्रम आयोजना गरी सम्मान गरिने बताए।

अन्तरजातीय विवाह गरेपछि समाजमा अदृश्य रूपमा भोग्नुपरेको विभेद र कठिनाइलाई महसुस गर्दै गाउँपालिकाले यो कदम चालेको हो। नगदसहितको सम्मान पाएपछि यी जोडीहरू हर्षित भएका छन्। अध्यक्ष राईले भने, “अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो।”

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले गाउँपालिकाको यो सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ र अन्य स्थानीय तहलाई पनि यस्तै कार्य गर्न प्रेरित गर्नेछ।”

गाउँपालिकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा यो सम्मान कार्यक्रम आयोजना गरेको हो। सम्मान कार्यक्रमको अवसरमा सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेका विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनको प्रस्तुतिले सहभागीहरूलाई जातीय विभेदका विभिन्न आयाम र कानूनी प्रावधानबारे जानकारी गराएको थियो।

यो सम्मान कार्यक्रम खोटेहाङ गाउँपालिकाको मात्र नभई सिङ्गो नेपाली समाजकै लागि एक महत्त्वपूर्ण सन्देश हो। यसले प्रेम र सद्भावको जित भएको मात्र दर्शाउँदैन, बरु जातीय विभेदविरुद्ध लड्न र सभ्य समाज निर्माण गर्न सबै एकजुट हुनुपर्ने आवश्यकतालाई पनि उजागर गर्दछ।

खोटेहाङ गाउँपालिकाको यो पहलले अन्य स्थानीय तहलाई पनि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्न र जातीय विभेद न्यूनीकरणमा ठोस कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। यो सम्मान ती ४० जोडीका लागि मात्र नभएर सिंगो समाजका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.