काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले आज उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रहरीले विष्टलाई झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ गते पक्राउ गरी हिरासतमा राखेको थियो। विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। पक्राउपछि आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा राखिएको थियो।
विष्टले लेखेको पत्रका आधारमा रेशम चौधरी पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। शाखा अधिकृत विष्टको पत्रकै कारण चौधरी पक्राउ परेपछि सोही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रमसमेत स्थगित भएको थियो।














