शिवम् सिमेन्टको धुवाँ–धुलोले हेटौंडामा स्वास्थ्य संकट, विद्यालयले ‘छात्रवृत्ति’ लिएकाे भन्दै अभिभावक आक्रोशित

हेटौँडा, मंसिर २५ गते । हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगबाट निस्कने कालो धुवाँ र धुलोका कारण स्थानीय बस्ती, विद्यालय र कृषि क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै जिल्लावासी र सामाजिक अभियन्ताहरूले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमा पोस्ट गर्दै उद्योगको प्रभावले लक्ष्मी आधारभूत विद्यालयका बालबालिकाले मुख छोपेर पढ्नुपर्ने, उद्योगको बज्रध्वनीले कक्षा–कक्षामा अवरोध हुने र समग्र बस्तीको स्वास्थ्यमा गम्भीर असर परेको बताए।

महतका अनुसार विद्यालयले शिवम् सिमेन्टबाट केही रकम तथा ‘छात्रवृत्ति’ जस्ता आर्कषक प्रस्तावहरू स्वीकार गरेको चर्चा चलेको छ। उनले यस्ता ‘ललिपप’ स्वीकार गर्नु विद्यालयको गल्ती भएको भन्दै आलोचना गर्दै लेखेका छन्,
“विद्यार्थीकै स्वास्थ्यभन्दा केही लाख ठूलो हुँदैन। उद्योगले चलाखी देखाएर जिम्मेवारी पन्छिन खोजेको स्वीकार्य हुँदैन।”

स्थानीय बासिन्दाले उद्योगबाट निस्कने धुलोका कारण कपडा धोएर सुकाउनसमेत कठिनाइ भएको, खेतीबाली उत्पादन घटेको र माटोको उर्वराशक्ति खस्किँदो अवस्थामा पुगेको गुनासो गरेका छन्।

उनीहरूले सम्बन्धित मन्त्रालयमा समस्या बुझाउन काठमाडौं पुगे पनि UML को महाधिवेशनका कारण मन्त्रीहरूसँग भेट हुन नसकेको र पुस २ गते भेट हुने जानकारी प्राप्त भएको महतले बताए।

“आमजनताको स्वास्थ्यसँग खेल्ने कार्य अब बन्द हुनुपर्छ,” महतले चेतावनी दिदैँ लेखेका छन्, “शिवमले अल्पकालीन ‘दाउपेच’ होइन, दीर्घकालीन समाधानमा लाग्नुपर्छ।”

स्थानीयहरूको दाबी अनुसार वर्षौंदेखिको प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या बढेर बस्तीमा स्वास्थ्य जोखिम उच्च बनेको छ। उनीहरूले उद्योगले वातावरणीय मापदण्ड पालना गरेको/नगरेको विषयमा सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.