औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडा, असार २७ गते । नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जिल्लाका औषधि व्यवसायीहरूसँग व्यवसाय सञ्चालनका समसामयिक विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार आयोजित कार्यक्रममा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट औषधि पसल सञ्चालन तथा बन्द गराउने विषयमा भइरहेका गतिविधिका बारेमा विशेष छलफल गरिएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले औषधि व्यवसाय सञ्चालनका क्रममा कानुनी प्रक्रिया, नियमन, मापदण्ड तथा आफूहरूले भोगिरहेका विभिन्न समस्या र चुनौतीबारे धारणा राखेका थिए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठले विभिन्न कारण देखाउँदै औषधि पसल बन्द गराउने अवस्था सिर्जना भइरहेकोप्रति चिन्ता व्यक्त गरे। मकवानपुरमा करिब १३० औषधि व्यवसायी सक्रिय रहेको उल्लेख गर्दै उनले सबै व्यवसायीलाई प्रचलित कानुन, मापदण्ड र व्यवसायिक आचारसंहिताको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न आग्रह गरे।

अन्तरक्रियाका क्रममा व्यवसायलाई थप व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन नियामक निकाय र व्यवसायीबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए। उनीहरूले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायले संवादलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे।

कार्यक्रमकै अवसरमा नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष विष्णु थापाले सञ्चारिका समूह मकवानपुरलाई सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय थान सेनेटरी प्याड हस्तान्तरण गरेका थिए।

अन्तरक्रियामा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका सचिव बिनोद लामिछानेसहित जिल्लाका औषधि व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.