हेटौंडा, पुस २ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ परेपछि सामाजिक सञ्जाल तातेको छ। पुस १ गते २०६७ सालसँग सम्बन्धित एक मुद्दामा अनुसन्धानका लागि देवराज लामालाई पक्राउ गरिएपछि पार्टीभित्र र बाहिर व्यापक चर्चा भइरहेको छ।
यसै सन्दर्भमा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य सुन्दर लामाले करिब ८ मिनेट ४ सेकेन्ड लामो भिडियो सन्देशमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छन्। भिडियो सन्देशमा उनले कानुनी राज्यको मान्यता अनुसार निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै अनुसन्धान प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।
सुन्दर लामाका अनुसार पार्टी अध्यक्ष हर्क साम्पाङले यस विषयमा पहिल्यै स्पष्ट धारणा राखिसक्नुभएको छ। “यदि अनुसन्धानबाट देवराज लामा निर्दोष ठहरिए भने उहाँलाई पुनः सम्मानसहित पार्टीमा स्वागत गरिनेछ, तर दोषी ठहरिएमा पार्टीगत पदबाट स्वतः निलम्बन गरिनेछ,” उनले भने।
भिडियो सन्देशमा उनले वर्तमान सरकारलाई धन्यवाद दिँदै भ्रष्टाचार, बेथिति र कुसंस्कृतिविरुद्ध कदम चाल्नुपर्ने बताएका छन्। श्रम संस्कृति पार्टी कुनै पनि आरोपी व्यक्तिलाई संरक्षण गर्ने पक्षमा नरहेको र कानुनको दायरामा जो–कोही आउन सक्नुपर्ने उनको भनाइ छ।
तर, उनले अनुसन्धान प्रक्रियालाई राजनीतिक प्रतिशोधका रूपमा प्रयोग गर्न खोजिए त्यसको कडा विरोध गरिने चेतावनी पनि दिएका छन्। “दोषीले सजाय पाउनैपर्छ र निर्दोषले सफाइ पाउनैपर्छ। तर राजनीतिक प्रतिशोधका आधारमा प्रक्रिया अघि बढाइयो भने सभ्य नागरिक समाजले त्यसको प्रतिकार गर्नेछ,” उनले जोड दिए।
सुन्दर लामाले पार्टीप्रति बढ्दो जनलहर र विशेषगरी युवा पुस्ताको चेतनालाई उल्लेख गर्दै भविष्यमा पार्टीले सरकार गठन गर्न सके भ्रष्टाचार र कुसंस्कृतिविरुद्ध कडा कानुनी प्रावधान ल्याएर अघि बढ्ने दाबी गरेका छन्। आवश्यक परे मृत्युदण्डसम्मको कानुनी व्यवस्था ल्याउने विषयमा पनि पार्टी स्पष्ट रहेको उनले बताए।
अन्त्यमा उनले देवराज लामा प्रकरणमा जे निर्णय आउँछ, त्यसलाई श्रम संस्कृति पार्टीले कानुनी राज्यको मर्मअनुसार स्वतः स्वीकार गर्ने स्पष्ट गर्दै निष्पक्ष र पारदर्शी छानबिन नै सबैका लागि स्वीकार्य हुने धारणा व्यक्त गरेका छन्।














