मनहरी,पुस १२ गते । मनहरी–३ हाँडिखोलामा रहेको जनहीत पुरुष उपभोक्ता समूहले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको अवसरमा हेटौंडा उपमहानगरपालिका–११ डाङडुङेमा अवस्थित मामाघर नेपाल मकवानपुरलाई विभिन्न सामग्री सहयोग गरेको छ।
समूहले मामाघर नेपाललाई २० थान ब्याग, खाद्यान्न सामग्री, मञ्जन, सर्फ तथा तरकारी सहयोग प्रदान गर्नुका साथै सहभोज कार्यक्रमसमेत आयोजना गरेको समूहका अध्यक्ष अनिल पुंडासैनीले जानकारी दिएको छ।
अध्यक्ष पुंडासैनीका अनुसार विगतका वर्षहरूमा समूहका सदस्यहरूले बनभोजमा खर्च गर्ने रकम यस वर्ष सामाजिक कार्यमा प्रयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। सामाजिक उत्तरदायित्वको भावना अनुरूप मामाघर नेपाललाई सहयोग गर्न पाएकोमा समूह गौरवान्वित भएको उनले बताए।
सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुर विगत डेढ दशकदेखि दान, चन्दा, उपहार तथा विभिन्न सहयोगको माध्यमबाट सञ्चालन हुँदै आएको एक सामाजिक संस्था हो।














