सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित, ढुक्क भएर बालबालिका भर्ना गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

हेटौंडा, पुस २७ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको बताउँदै अभिभावकलाई आफ्ना बालबालिका ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गर्न आग्रह गरेको छ।

कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन एकजुट भएर लागिरहेको बताए। उनका अनुसार वडाभित्रका सामुदायिक विद्यालयहरूले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्।

वडा अध्यक्ष सिग्देलले विद्यालयको भौतिक पूर्वाधार, आधुनिक प्रयोगशाला, स्तरीय बाल विकास केन्द्र, दक्ष तथा अनुभवी शिक्षक, व्यवहारिक शिक्षामा जोड दिने अतिरिक्त क्रियाकलाप र तालिमको व्यवस्था गरिएको उल्लेख गरे। साथै शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कार, विभिन्न सिर्जनात्मक र प्रतिस्पर्धात्मक गतिविधि सञ्चालनमा वडा कार्यालयले प्राथमिकताका साथ सहयोग गरिरहेको उनको भनाइ छ।

संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा मार्फत शिक्षाको गुणस्तर थप सुधार गर्ने लक्ष्य लिइएको पनि उनले बताए। वडा नम्बर ४ भित्र भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक माध्यमिक विद्यालय र श्रमिक माध्यमिक विद्यालय सामुदायिक विद्यालयका रूपमा सञ्चालनमा छन्।

साधारणसभामा वडा अध्यक्ष सिग्देलले वडाको भौतिक विकासका विषयमा पनि जानकारी गराउँदै आगामी २०८४ सालसम्म सबै मूल तथा भित्री सडकहरू कच्ची सडक र खाल्डाखुल्डी मुक्त बनाइने लक्ष्य रहेको बताएको छ। आफू निर्वाचित भएपछि मूल सडकहरू ८० प्रतिशत र भित्री सडकहरू ९० प्रतिशतसम्म स्तरीकरण गरिएको दाबी उनले गरे।

साधारणसभाले अजीव भट्टराईको अध्यक्षतामा अर्जुन पोखरेल सचिव रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन समिति संयोजक केशव अर्यालले जानकारी दिए। प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै साधारणसभा संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.