नगरस्तरीय छात्र भलिबलमा ज्ञानाेदयको रोमाञ्चक जित, उपाधि हात पार्‍यो

हेटौंडा, माघ ११ गते ।ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन मा.विको २५औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ अन्तर्गत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता हिजो माघ १० गते सम्पन्न भएको छ।

खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक विश्व नारायण श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराम पोखरेल, पूर्वअध्यक्ष जिधराज ढकाल, उपाध्यक्ष राजेश घिमिरे, सचिव डा. लीलानाथ ढुङ्गेल, कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, विव्यस अध्यक्ष रमिला सापकोटा, सञ्चालक समिति सदस्य डा. निमेष निखिल, पिटिए अध्यक्ष प्रकाश बानियालगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा ज्योति मावि, हेटौँडा–१८ ले सनसाइन मावि, हेटौँडा–९ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा ज्ञानाेदय बालबाटिका आवासीय माविले कृष्णआदर्श माविलाई पराजित गरेको थियो।

फाइनल खेल अत्यन्तै रोमाञ्चक बनेको थियो। पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा ज्ञानाेदय बालबाटिका आवासीय माविले ज्योति मावि, हर्नामाडीलाई ३–२ को सेटमा पराजित गर्दै नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भयो। ज्ञानाेदयले २५–२४, २५–२१, २२–२५, २२–२५ र १५–८ अङ्कसहित शानदार जित दर्ता गरेको हो।

उपाधिसँगै विजेता ज्ञानाेदय बालबाटिका आवासीय माविले नगद रु. १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ज्योति माविले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै सेमिफाइनलमा पुग्न सफल सनसाइन इङ्लिस बोर्डिङ स्कुल र कृष्णआदर्श बोर्डिङ स्कुलले नगद रु. पाँच–पाँच हजार प्राप्त गरेका छन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडी ज्ञानाेदय बालबाटिका आवासीय माविका ग्रिस्मन अर्याल घोषित भएका छन्। उनले नगद रु. २,५०० सहित ट्रफी प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.