हेटौँडा, माघ १८ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी मकवानपुरले प्रतिनिधि सभा निर्वाचन लक्षित चुनावी अभियानलाई तीव्र बनाउँदै सोमबार हेटौंडा–१० टिसेन रोडमा उम्मेदवारसँग पत्रकार संवाद कार्यक्रम सम्पन्न गरेको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महेश नेपाली (आरोह) र क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर घलान (वाटर) सहभागी थिए।

कार्यक्रममा दुवै उम्मेदवारले आफ्नो चुनावी एजेण्डा, प्रतिबद्धता र पार्टीको राजनीतिक दृष्टिकोणबारे पत्रकारहरूसँग खुलेर संवाद गरेका थिए। उनीहरूले गुलाफ चिन्ह लिएर घरदैलो अभियान तीव्र रूपमा अगाडि बढिरहेको जानकारी गराउँदै जनतासँग प्रत्यक्ष सम्पर्कमार्फत आफ्ना कार्यक्रम प्रस्तुत गरिरहेको बताए।

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महेश नेपाली (आरोह)ले वर्तमान सामाजिक–आर्थिक अवस्थाले हरेक परिवारलाई कुनै न कुनै रूपमा प्रभावित बनाएको उल्लेख गर्दै परनिर्भरताका कारण पारिवारिक विखण्डन बढिरहेको बताए। उनले देशको प्रमुख संकटको समाधान आत्मनिर्भर अर्थतन्त्रमै रहेको दाबी गरे। “राजनीतिक आत्मनिर्भरता बिना देश आत्मनिर्भर बन्न सक्दैन,” उनले भने, “युवाले स्वदेशमै रोजगारी पाउनुपर्छ र महिलाले यही देशमा स्वरोजगारको अवसर पाउनुपर्छ।”
उनले पार्टी स्वयं उत्पादनमुखी कार्यमा लागिरहेको उल्लेख गर्दै कृषिमा आधारित आत्मनिर्भर अभियान अघि बढाइएको बताए। “हामी भाषणमा मात्रै सीमित छैनौँ, अहिले हलो जोतिरहेका छौँ, बाँझो जमिन फोडिरहेका छौँ,” उनले भने। भ्रष्टाचारको मूल कारण परनिर्भरता भएको दाबी गर्दै आत्मनिर्भर उत्पादन प्रणालीमार्फत मात्रै भ्रष्टाचार अन्त्य सम्भव हुने उनको भनाइ थियो।

त्यसैगरी क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर घलान (वाटर)ले जेन–जि पुस्ताको न्याय र अधिकारका लागि आफूहरू चुनावी मैदानमा उत्रिएको बताए। उनले भ्रष्टाचारविरुद्ध कडा नीति अघि सार्दै अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण नगरे आजीवन कारावासको व्यवस्था गरिने स्पष्ट पारे।
घलानले पार्टीले स्वरोजगार र श्रमलाई प्राथमिकतामा राखेर राजनीति गरिरहेको उल्लेख गर्दै विगतको आश्रित अवस्थाबाट मुक्त भएको बताए। “हामी आज कसैसँग एक किलो चामल पनि नमाग्ने अवस्थामा पुगेका छौँ,” उनले भने। उनले मतदातालाई पैसाको लोभमा नपरी स्वविवेक प्रयोग गर्न आग्रह गर्दै “फ्री भोटको बदलामा फ्री सेवा” दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बौद्धिक व्यक्तित्व, समर्थक तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














