हेटौँडा, फागुन १ गते । शिक्षा र खेलकुदलाई समान महत्व दिनुपर्ने सन्देशसहित हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयको आयोजनामा बृहत् शैक्षिक खेलकुद र्याली सम्पन्न भएको छ। तेस्रो वडा–स्तरीय खेलकुद महोत्सवको अवसरमा निकालिएको र्यालीले विद्यार्थीको सर्वाङ्गीण विकासमा शिक्षा र खेलकुद दुवै अपरिहार्य रहेको सन्देश प्रवाह गरेको थियो।
र्यालीको उद्घाटन गर्दै संविधानसभा सदस्य तथा प्रमुख अतिथि अनन्त पौडेलले वडा कार्यालयले भौतिक पूर्वाधारसँगै शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्नु प्रशंसनीय रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउनुका साथै भविष्यका सक्षम खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ थियो।
वडा अध्यक्ष नवीन सिग्देलले शिक्षा र खेलकुद वडा नं. ४ का मुख्य प्राथमिकता भएको उल्लेख गर्दै यी दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए। कार्यक्रममा राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माविका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा विभिन्न विद्यालय तथा संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महोत्सवका सभापति तथा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालका अनुसार विभिन्न प्रतियोगितामा १२ सयभन्दा बढी विद्यार्थी सहभागी भएका छन् भने विजेता विद्यार्थीहरूलाई तीन सयभन्दा बढी संख्यामा पुरस्कृत गरिनेछ।
खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिएअनुसार महोत्सवअन्तर्गत नगरस्तरीय फुटबल, भलिबल, क्रिकेट, बास्केटबल तथा वडास्तरमा टग अफ वार, एथलेटिक्स, हाजिरीजवाफ, वक्तृत्व, हिज्जे, वादविवाद, कविता र क्विज प्रतियोगिता सञ्चालन गरिएको छ। प्रतियोगिताका विजेताहरूलाई यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
यसरी हेटौँडामा सम्पन्न शैक्षिक खेलकुद र्यालीले शिक्षा र खेलकुदलाई जीवनका दुई बलिया आधारका रूपमा स्थापित गर्दै समुदायमा सकारात्मक ऊर्जा फैलाएको छ।














