हेटौँडा, फागुन १४ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पङ्ग फागुन १८ गते हेटौंडा आउने कार्यक्रम तय भएको छ। अध्यक्ष सम्पङ्गको उपस्थितिमा हेटौंडाको हुप्र चौरमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको सूचनाअनुसार उक्त कार्यक्रममा विशेषगरी “माटो प्रेमी” अटो चालक दाजुभाइहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ। कार्यक्रमलाई व्यापक बनाउन ब्यानर प्रचार–प्रसारका लागि सहयोग गर्न इच्छुकहरूलाई शीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।
लामाले सार्वजनिक गरेको स्टाटसमा फागुन १८ गतेको कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन माटो प्रेमी दाजुभाइ, दिदीबहिनी, आमा–बुबा तथा सम्पूर्ण मकवानपुरवासीलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको उल्लेख छ।
पार्टीले यस कार्यक्रममार्फत श्रम, संस्कृति र स्थानीय पहिचानको पक्षमा आफ्नो सन्देश जनतामाझ पुर्याउने लक्ष्य लिएको जनाएको छ।














