हेटौँडा, फागुन १४ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागु पूर्णिमा (होली) पर्वलाई शान्त, सभ्य र मर्यादित रूपमा मनाउन सबै जिल्लावासीलाई आग्रह गरेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचार–प्रसार तथा मौन अवधिभित्र होली पर्व परेकाले निर्वाचनको सुरक्षा, समावेशीता र निर्वाचन आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई धार्मिक तथा सांस्कृतिक मर्यादाभित्र रही मनाउन आग्रह गर्दै आचारसंहिता उल्लङ्घन भएको देखिएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरेको छ।
त्यस्तै, होलीको दिन भेटघाट वा कुनै पनि किसिमका कार्यक्रम नगर्न, गर्नैपरेमा पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। पर्वको नाममा कसैको इच्छाविपरीत जबरजस्ती, अमर्यादित व्यवहार, रङ्ग, लोला वा फोहर पदार्थ प्रयोग गर्ने कार्य नगर्न सूचनामा उल्लेख छ।
सूचनामा मादक तथा नशालु पदार्थ सेवन नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सार्वजनिक स्थलमा होहल्ला नगर्न, चर्को आवाजमा बाजा–डिजे नबजाउन तथा पटका, आतसबाजीजस्ता गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।
प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि भएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयले दिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली पर्व तथा निर्वाचन आचारसंहिता पालनासम्बन्धी लक्षित सूचना यस्तो छ हेर्नुहोस्।















