काठमाडौँ, चैत १६ गते । गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी संगठनलाई अझ जनमुखी, प्रविधिमैत्री र उत्तरदायी बनाउन स्पष्ट निर्देशन दिएका छन्।

प्रधान कार्यालयमा पुग्दा गृहमन्त्री गुरूङलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायतका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए। निरीक्षणका क्रममा उनले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै संग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स तथा एड्भान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ शाखाको अवलोकन गरेका थिए।

निरीक्षणपछिको कार्यक्रममा गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले प्रभावकारी कार्यसम्पादन गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे। उनले आगामी दिनमा अझ आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै प्रहरीको कार्यमा अनावश्यक हस्तक्षेप नहुने र संगठनलाई स्वतन्त्र तथा प्रभावकारी रूपमा काम गर्न अनुकूल वातावरण सिर्जना गरिने बताए।
नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै उनले सेवाग्राहीप्रति शिष्ट व्यवहार, जिम्मेवार प्रस्तुति र छरितो सेवा प्रवाहमा विशेष जोड दिए। साथै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विपद् व्यवस्थापनमा अग्रपंक्तिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री गुरूङले प्रहरी संगठनलाई समयानुकूल प्रविधियुक्त बनाउने, आवश्यक तालिमको व्यवस्था गर्ने तथा कार्यसम्पादनमा आधारित वृत्ति विकास प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ ले विगतका निर्वाचनहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी र द्रुत सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने धारणा राखे।
यसैगरी प्रहरी महानिरीक्षक कार्कीले संगठन संविधान र मानवअधिकारको मापदण्डभित्र रही सेवा, सुरक्षा र सत्यनिष्ठामा केन्द्रित रहेको उल्लेख गरे। उनले गृहमन्त्रीबाट प्राप्त निर्देशनले प्रहरी संगठनको मनोबल उच्च बनाएको र आगामी कार्यदिशा थप स्पष्ट भएको विश्वास व्यक्त गरे।
निरीक्षणका क्रममा राजेन्द्र प्रसाद भट्ट ले नेपाल प्रहरीको संरचना, जनशक्ति, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा भावी योजनाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा देशभरका विभिन्न प्रहरी इकाइका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यममार्फत समेत सहभागी भएका थिए।














