हेटौँडा,चैत २८ गते । हेटौँडा–१५ फारलाइन क्षेत्रमा पर्ने सल्लाघारीमा भोलि (चैत्र २९ गते) बृहत् श्रमदान कार्यक्रम आयोजना हुने भएको छ। श्रम संस्कृति पार्टी मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आज एक भिडियो सन्देश मार्फत कार्यक्रमबारे जानकारी दिएका छन्। उनले भिडियो मार्फत स्थानीय आमाबाबु, दाजुभाइ तथा दिदीबहिनी सबैलाई श्रमदान कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
उनका अनुसार उक्त श्रम अभियान हेटौँडा–१५ फारलाइन क्षेत्रमा सञ्चालन गरिनेछ। कार्यक्रम वन समितिको विशेष सहकार्यमा आयोजना गरिने बताइएको छ।
बृहत् श्रमदान कार्यक्रम भोलि बिहान ठीक ७ बजेदेखि सुरु हुने तय गरिएको छ। सोही समयमा सबै श्रमदाताहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
साथै, बिहानदेखि सञ्चालन हुने कार्यक्रमलाई ध्यानमा राख्दै सहभागीहरूका लागि बिहानको खाजा तथा दिउँसोको खाना समेत वन समितिको सहकार्यमा सोही स्थानमै व्यवस्था गरिने जानकारी पनि लामाले दिएका छन्।
उक्त अभियानले स्थानीय सरसफाइ, वातावरण संरक्षण तथा सामुदायिक एकता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको छ।














