हेटौँडा,बैशाख १३ गते । हेटौँडा बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित पछिल्लो घटनाले स्थानीय तहमा गम्भीर चासो र आशंका उत्पन्न गरेको छ। सहकारीका कायममुकायम व्यवस्थापक आफ्नै कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको घटनाले सहकारीको समग्र गतिविधिमाथि प्रश्न उठाएको हो।
स्थानीय स्रोतहरूका अनुसार करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार रहेको उक्त सहकारी संस्थामा विगत केही समयदेखि अनियमित गतिविधिहरू भइरहेको आशंका गरिएको छ। पदाधिकारीहरूलाई अस्वभाविक सेवा–सुविधा प्रदान गरिएको, बिना धितो ऋण वितरण गरिएको, ब्याज मिनाहा गरिएको तथा कतिपय अवस्थामा ऋण नै मिनाहा गरिएको जस्ता विषयहरू बाहिर आएका छन्।
उक्त सहकारीमा करिब ७ हजारभन्दा बढी शेयर सदस्यहरूको बचत संलग्न रहेको बताइएको छ। यस अवस्थामा यस्तो प्रकृतिको घटना अत्यन्त संवेदनशील भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

सामाजिक अभियन्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल मार्फत यस घटनालाई केवल एक व्यक्तिको स्वास्थ्य अवस्थासँग जोडेर हेर्न नहुने बताएका छन्। उनले अघिल्लो समिति देखि हालसम्मका सम्पूर्ण आर्थिक कारोबार, निर्णय प्रक्रिया र व्यवस्थापन पक्षको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
“हजारौं बचतकर्ताको मेहनतको रकम सुरक्षित छ कि छैन भन्ने प्रश्नको स्पष्ट जवाफ आउनैपर्छ,” उनले उल्लेख गरेका छन्।
यस घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत उठेको छ। सहकारीप्रति जनविश्वास जोगाउन पारदर्शिता र कडाइका साथ छानबिन अपरिहार्य भएको सरोकारवालाहरूको भनाइ छ।














