कैलाश गाउँपालिका,बैशाख २२ गते । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिका वडा नं. ४ लिक्चेमा रहेको श्री प्राथमिक विद्यालय लिक्चेको भवनमा हिजो आएको तीव्र हावाहुरीका कारण ठूलो क्षति पुगेको छ। स्थानीयका अनुसार अचानक आएको हावाहुरीले विद्यालयको छाना उडाइदिँदा कक्षाकोठाहरू पूर्ण रूपमा खुला अवस्थामा पुगेका छन्।

छाना उडेपछि विद्यालयमा नियमित पठनपाठन प्रभावित भएको छ भने विद्यार्थीहरूलाई सुरक्षित रूपमा कक्षा सञ्चालन गर्न कठिनाइ भएको विद्यालय स्रोतले जनाएको छ। घटनापछि विद्यालय व्यवस्थापन समिति तथा स्थानीयवासीले क्षतिको विवरण संकलन गर्ने कार्य थालेका छन्।
क्षतिग्रस्त भवनको शीघ्र मर्मतका लागि सम्बन्धित निकायसँग आवश्यक सहयोगको अपेक्षा गरिएको छ। स्थानीयले यथाशीघ्र पुनर्निर्माण तथा मर्मत कार्य अघि बढाउन माग गरेका छन्, ताकि विद्यार्थीहरूको पढाइमा थप अवरोध नआओस्।















