हेटौँडामा ‘नवोदय मुन–२०८३’ सुरु, विद्यार्थीलाई नेतृत्व र अन्तर्राष्ट्रिय मुद्दाबारे अभ्यास

हेटौंडा,जेठ १५ गते। हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजना तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘नवोदय मुन–२०८३’ (नमूना संयुक्त राष्ट्रसंघीय महासभा) को पाँचौँ संस्करण शुक्रबारदेखि सुरु भएको छ ।

तीन दिने कार्यक्रमको उद्घाटन एक समारोहबीच गरिएको हो । नमूना महासभाका महासचिव वृष्टि जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले वर्तमान समय स्टार्टअप र कृत्रिम बुद्धिमत्ता (एआई) को युग भएकाले विद्यार्थीलाई नवप्रवर्तन, नेतृत्व विकास र अन्तर्राष्ट्रिय दृष्टिकोणतर्फ अग्रसर गराउन विद्यालय तथा क्याम्पसबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले केवल परीक्षामा उत्कृष्ट अंक वा ४ जीपीए ल्याउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीमा नेतृत्व क्षमता, सार्वजनिक बोलाइ कला तथा विश्वव्यापी विषयप्रतिको समझ पनि उत्तिकै आवश्यक रहेको बताए । शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षाले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा संयुक्त राष्ट्रसंघ मातहतका विभिन्न समितिका प्रतिनिधिले महासभामा छलफल गरिने विषय र एजेन्डाबारे जानकारी दिएका थिए । कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सुरक्षा परिषद्, आर्थिक तथा वित्तीय मामिला परिषद्, खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम तथा नेपालको प्रतिनिधिसभासम्बन्धी विषयमा विद्यार्थीहरूले अभ्यास गर्ने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत दोस्रो दिन साँझ ‘सोसल नाइट’ आयोजना गरिनेछ । उक्त कार्यक्रममा नृत्य, डिनर तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ ।

नवोदय मुन–२०८३ मा मकवानपुर बाल विद्यासदन, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय, जेम्स स्कुल, गौरी शिखर, जनप्रिय तथा कमाने एकेडेमीलगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल, सर्लाही एमबिसन एकेडेमीका प्रधानाध्यापक सुरेश लामा, इरिस इङ्लिस एकेडेमी चितवनका सहायक प्रधानाध्यापक कृष्णप्रसाद तिवारीलगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.