हेटौंडा,जेठ १९ गते। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशस्तरीय ‘कम्युनिटी कोचिङ कोर्स’ हेटौंडामा सुरु भएको छ। फुटबलको आधारभूत तहदेखि विकास गर्दै दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको कोर्सको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले गरेका छन्।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जना प्रशिक्षार्थी सहभागी भएका छन्। उद्घाटन कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य टिका लामा, परिषद्का सदस्य सविन भट्टाचार्य तथा प्रशिक्षक (इन्स्ट्रक्टर) टेकनारायण श्रेष्ठ र चेतन घिमिरे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक अमृत लुङ्बाका अनुसार तालिमका क्रममा सहभागीहरूलाई फुटबलका आधारभूत सिद्धान्त, खेल कौशल, प्रशिक्षण पद्धति तथा खेलका आधुनिक नियमबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
प्रशिक्षण जेठ २७ गतेसम्म सञ्चालन हुनेछ। तालिम सफलता पूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूले भविष्यमा एन्फाको ‘सी’ लाइसेन्स कोचिङ कोर्समा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
एन्फाले सञ्चालन गरेको यो कार्यक्रमले प्रदेशभर फुटबल प्रशिक्षकको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा फुटबलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।














