“बोतल देऊँ, बिरुवा लिऊँ” अभियान मार्फत १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा,जेठ ३१ गते। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको “बोतल देऊँ, बिरुवा लिऊँ” अभियान अन्तर्गत हेटौंडा–७ मा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ।

टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–७ र श्रीनिवास टोल विकास संस्था हेटौंडा–७ को समन्वयमा सञ्चालित कार्यक्रम श्रीनिवास टोल विकास संस्थाको परिसरमा सम्पन्न भएको हो।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दामोदर गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका सदस्य लक्ष्मी अधिकारी, सुरेश लामिछाने, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. ७ का अध्यक्ष युवराज गौतम, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष मनोज अर्याल, पूर्व अध्यक्ष जनार्जन पौडेल तथा संगालो टोल विकास संस्थाका अध्यक्ष रोमबहादुर न्यौपानेलगायत सहभागी भएका थिए।

कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दाबाट संकलित प्लास्टिकका बोतलहरूको सट्टामा लिची, आँप, अम्बा, कागतीलगायत विभिन्न जातका १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ। वातावरणीय सचेतना अभिवृद्धि गर्दै समुदायलाई हरियाली अभियानसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दामोदर गौतमले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै समुदायस्तरबाट सञ्चालन हुने यस्ता अभियानहरूले सरसफाइ, हरियाली विस्तार तथा नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्थाहरू केवल भौतिक विकासका लागि मात्र नभई सामाजिक रूपान्तरण, वातावरण संरक्षण, महिला सशक्तीकरण, सरसफाइ तथा जनचेतनामूलक अभियानका प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनले नागरिक सहभागितामा आधारित यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार हालसम्म तीन चरणमा ६ सयभन्दा बढी बिरुवा वितरण गरिसकिएको छ। आगामी दिनमा एक हजार एक सय बिरुवा वितरण गर्ने लक्ष्य राखिएको तथा अभियानलाई निरन्तरता दिँदै हेटौंडालाई थप हराभरा, स्वच्छ र वातावरणमैत्री नगर बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, महिला सशक्तीकरण, युवा परिचालनलगायत विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक रूपमा विस्तार गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.