हेटौंडा, असार २३ गते । हेटौंडा उपमहानगरपालिका–१० स्थित कर्रापुल नजिक महेन्द्र राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन्। दुर्घटना आइतबार साँझ करिब ७ः३० बजे भएको हो।
प्रहरीका अनुसार हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना ४५ प ५२१६ नम्बरको पल्सर मोटरसाइकलले कारलाई ओभरटेक गरी अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना २८ प ९७२ नम्बरको होन्डा साइन मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा पल्सर मोटरसाइकल चालक हेटौंडा–८ कमाने निवासी ३१ वर्षीय विवेक वाइबा दुवै हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन्। सोही मोटरसाइकलमा सवार २६ वर्षीय शुसान रिजालको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको छ।
यस्तै, होन्डा साइन मोटरसाइकल चालक हेटौंडा–१३ बनस्पती निवासी ३२ वर्षीय सुनिल मोक्तानको दाहिने हात, खुट्टा तथा छातीमा चोट लागेको प्रहरीले जनाएको छ। उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मकवानपुर सहकारी अस्पतालमा रिफर गरिएको छ। सोही मोटरसाइकलमा सवार २५ वर्षीय प्रमोद थापाको बाँया हात र खुट्टामा सामान्य चोट लागेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी नायव निरीक्षक शत्रुधन राउतको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै मोटरसाइकल वडा प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा रहेका छन्। प्रारम्भिक अनुसन्धानबाट दुवै चालकले मादक पदार्थ सेवन नगरेको खुलेको छ। तर, दुवैजनासँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको पनि प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।















