मनहरि , भदौ १५ गते । आज सोमबार बिहान आयोजित प्रार्थना कार्यक्रममा ४९औँ अभिभावक भेलाबाट नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको विद्यार्थीहरूसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको विद्यार्थीहरूसँग परिचय गराउँदै विद्यालयको शैक्षिक तथा समग्र विकासका लागि आगामी दिनमा सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
यसै अवसरमा प्राथमिक तहमा नवनियुक्त दुई जना शिक्षिकालाई विद्यालय परिवारले स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा नवनियुक्त शिक्षिकाहरूको समेत विद्यार्थीहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो।
त्यस्तै, ४९औँ अभिभावक भेलाका क्रममा पुरस्कार वितरण गर्न छुटेका विद्यार्थीहरूलाई आज आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको मेहनत, लगनशीलता र उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको हो।
विद्यालय परिवारले नवगठित विद्यालय व्यवस्थापन समिति तथा नवनियुक्त शिक्षिकाहरूलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रम विद्यालय, व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकबीचको सहकार्य र आत्मीयता थप मजबुत बनाउने अवसरका रूपमा समेत सम्पन्न भएको जनाइएको छ।














