हेटौंडा, भदौ १७ गते । हालैको बाढी तथा विपद्का कारण प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तनाव तथा मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै मनहरी गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ।
मनहरी गाउँपालिकाको कार्यालय रजैयाले जारी गरेको सूचनाअनुसार विपद्पछि नागरिकमा डर, चिन्ता, मानसिक तनाव, असुरक्षाको भावना, निद्रा नलाग्ने, मन आतिने, टोलाउने तथा मानसिक रूपमा असहज महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्ता समस्या विपद्पछिको अवस्थामा देखिने सामान्य मानवीय प्रतिक्रिया भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आफू वा परिवारका कुनै सदस्यले यस्ता समस्या अनुभव गरिरहेको अवस्थामा आफ्ना मनका कुरा सुरक्षित तथा गोप्य रूपमा व्यक्त गर्न र आवश्यक भावनात्मक सहयोग लिन आग्रह गरेको छ। यसका लागि गाउँपालिकाले निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरेको जनाएको हो।
गाउँपालिकाका अनुसार मनोपरामर्शकर्ता लक्ष्मीमाया गोलेमार्फत परामर्श सेवा लिन सकिनेछ। आवश्यक सहयोगका लागि ९७६७७४७९४९ मा सम्पर्क गर्न सकिनेछ भने सेवा कार्यालय समयभित्र उपलब्ध हुनेछ।
त्यसैगरी, तत्काल मनोसामाजिक सहयोग आवश्यक परे टोल फ्री नम्बर ११६६ मा २४ घण्टा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले विपद्का कारण मानसिक रूपमा असहज महसुस गरिरहेका नागरिकले समस्या लुकाएर नराखी आवश्यक परामर्श तथा सहयोग लिन आग्रह गरेका छन्।















