केही दिन अझै सतर्क रहन मेयर लामाको आग्रह, बाढी–पहिरोको जोखिम कायमै

हेटौँडा, असोज १० गते । हेटौँडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले मौसम केही सफा देखिए पनि बाढी र पहिरोको जोखिम कायमै रहेकाले अझै केही दिन सचेत रहन आग्रह गरेकी छन्।

मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत मौसम आज केही सफा देखिए पनि मौसम पूर्वानुमान महाशाखाले वर्षा पूर्णरूपमा रोकिएको जानकारी नदिएको उल्लेख गरेकी छन्। वर्षाको प्रभाव उत्तर–पश्चिमतर्फ सर्दै गएको मौसमविद्हरूको भनाइ रहेको उनले जनाएकी छन्।

उनका अनुसार जलवायु परिवर्तनका कारण मौसमसम्बन्धी वैज्ञानिक अनुमानहरूमा समेत चुनौती देखिन थालेकाले जुनसुकै समयमा वर्षा हुन सक्ने अवस्था रहेको छ।

लगातारको वर्षाका कारण जमिन गलेको अवस्थामा रहेकाले वर्षा भएपछि पहिरो जान सक्ने जोखिम रहेको मेयर लामाले उल्लेख गरेकी छन्। त्यस्तै, खोला तथा नदीको बहाव क्षेत्र र मूलस्रोत भएका स्थानमा वर्षा भइरहेमा त्यसको प्रभावस्वरूप बाढी आउन सक्ने उनले बताएकी छन्।

खोलानदीमा पानीको बहावसमेत सामान्य अवस्थाभन्दा बढी रहेकाले जोखिमलाई सामान्य रूपमा नलिन उनले आग्रह गरेकी छन्।

मेयर लामाले सम्भावित बाढी, पहिरो तथा डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन र अझै केही दिन सतर्क रहन नगरवासीलाई आग्रह गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.