हेटौँडा, कार्तिक १६ गते । राष्ट्रिय श्रम संस्कृति पार्टीले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा देशव्यापी रूपमा प्रथम वार्षिकोत्सव मनाएको छ। पार्टीको केन्द्रीय तहदेखि जिल्ला, नगर तथा स्थानीय तहसम्म एकैसाथ विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।

यसैक्रममा राष्ट्रिय श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिले पनि हेटौंडा उपमहानगरपालिका–स्थित संगमचोकमा दीप प्रज्वलन तथा केक काटेर प्रथम वार्षिकोत्सव मनाएको छ। पार्टी कार्यालय नजिकै आयोजित विशेष समारोहमा शुभकामना आदानप्रदान, दीप प्रज्वलन, केक काट्ने तथा पार्टीको एकवर्षे गतिविधिको समीक्षा गरिएको थियो।

पार्टीका विभिन्न स्थानीय तह तथा नगरस्तरीय समितिहरूले समेत आ–आफ्नो अनुकूलताअनुसार वार्षिकोत्सव कार्यक्रम आयोजना गरेका थिए। मकवानपुर जिल्ला समितिको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला तथा नगर प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामा (बज्यु) ले धरानबाट सुरु भएको श्रम अभियानले श्रम संस्कृति पार्टीको जन्म गराएको उल्लेख गर्दै यसलाई ऐतिहासिक राजनीतिक अभियानको संज्ञा दिए।
उनले पार्टी स्थापना भएको छोटो अवधिमै प्रतिनिधिसभा निर्वाचनमा नेपाली जनताको साथ र समर्थन प्राप्त हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। हर्क साम्पाङको विचार र सिद्धान्तबाट प्रभावित भएर पार्टीले संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई अगाडि बढाइरहेको उनको भनाइ थियो।
लामाले हर्कवादलाई प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट पसिना र औजारको क्रान्ति गर्ने विचारका रूपमा व्याख्या गर्दै मुलुकको समृद्धि भाषण र आन्दोलनले मात्र नभई श्रम र उत्पादनबाट सम्भव हुने धारणा राखे। विगतमा भएका आन्दोलन र परिवर्तनले केही उपलब्धि हासिल गरे पनि जनताको अपेक्षाअनुसार मुलुकलाई समृद्ध बनाउन नसकेको उनको टिप्पणी थियो।

उनले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै श्रम र उत्पादनलाई केन्द्रमा राखेर पार्टी जनताको घरदैलोमा पुग्ने बताए। भ्रष्टाचारलाई पार्टीले प्रमुख शत्रुका रूपमा लिएको उल्लेख गर्दै शून्य भ्रष्टाचारको अवधारणासहित श्रम र औजारको क्रान्ति अघि बढाइने उनको भनाइ थियो।
आगामी निर्वाचनमा विभिन्न राजनीतिक दलहरूले विभिन्न नारासहित जनतालाई आकर्षित गर्ने प्रयास गर्न सक्ने भन्दै उनले मतदातालाई कुनै प्रलोभनमा नपरी आफ्नो विवेक प्रयोग गरेर असल व्यक्ति र असल पार्टी छनोट गर्न आग्रह गरे। मकवानपुरका १० वटै स्थानीय तहमा पार्टीप्रति देखिएको विश्वास र अपनत्वलाई आगामी दिनमा अझ बलियो बनाउने प्रयास भइरहेको बताउँदै उनले स्थानीय निर्वाचनमा समेत जनताको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। साथै उनले आउँदै गरेका दीपावली, छठ, ल्होसार, क्रिसमस लगायतका चाडपर्वको शुभकामनासमेत व्यक्त गरे।

यसैगरी कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेश सल्लाहकार निशल थिङले पार्टी स्थापना भएको एक वर्षमै संगठनले हासिल गरेको विस्तार र उपलब्धि अपेक्षाभन्दा उल्लेखनीय रहेको बताए। एक वर्षको छोटो अवधिमा पार्टीले यति ठूलो छलाङ मार्ला भन्ने धेरैले कल्पनासमेत नगरेको उनको भनाइ थियो।
थिङले पार्टीको राजनीतिक दर्शन र एजेन्डा नेपाली माटो सुहाउँदो रहेको उल्लेख गर्दै प्रकृति, संस्कृति र प्रविधिको नाराले मुलुक निर्माणको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको बताए। यही विचारबाट प्रभावित भएर पूर्वदेखि पश्चिमसम्मका श्रमप्रेमी तथा श्रमदाताहरू पार्टीमा जोडिने क्रम तीव्र बन्दै गएको उनले उल्लेख गरे।
श्रमबिना कुनै पनि मुलुकको विकास सम्भव नहुने बताउँदै उनले सिंगापुर लगायतका देशको विकासलाई उदाहरणका रूपमा प्रस्तुत गरे। श्रमकै माध्यमबाट सीमित प्राकृतिक स्रोत भएका देशले समेत विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उनको भनाइ थियो।
उनले नेपाल पछाडि पर्नुको एउटा प्रमुख कारण कामभन्दा बढी गफ गर्ने र श्रमबाट टाढिने प्रवृत्ति भएको टिप्पणी गरे। चोकचोकमा बसेर गफ गर्ने, जुवातास खेल्ने तथा अरूको काम हेरेर समय बिताउने प्रवृत्तिले समाजलाई उत्पादनमुखी बनाउन नसकेको उनको धारणा थियो। विगतमा देशले धेरै राजनीतिक आन्दोलन, रगत र आँसुको मूल्य चुकाइसकेको भन्दै अबको समय रगत र आँसु होइन, श्रम र पसिना बगाएर राष्ट्र निर्माण गर्ने युग भएको उनले बताए।
विगतका राजनीतिक दलहरूले जनतालाई विभाजन गर्न सिकाएको तर देश निर्माण र समृद्धिका लागि आवश्यक श्रम संस्कृतिको विकास गर्न नसकेको आरोप लगाउँदै थिङले सबै नेपालीलाई एकजुट भएर निर्माण र उत्पादनमा केन्द्रित हुन आह्वान गरे।

कार्यक्रममा मन्तव्य राख्दै अर्का केन्द्रीय सदस्य मन्दिरा मोक्तानले श्रमदानबाट सुरु भएको अभियानले पार्टीको स्वरूप ग्रहण गरी देश तथा विदेशमा रहेका नेपालीमाझ आफ्नो पहिचान स्थापित गर्न सफल हुनु अप्रत्याशित उपलब्धि भएको बताइन्।
उनले मकवानपुर जिल्लाबाटै श्रमदान अभियानको सुरुवात भएको स्मरण गर्दै २०८२ असोज १३ गतेदेखि सुरु भएको अभियानले एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा सकारात्मक परिणाम दिन थालेको उल्लेख गरिन्। वार्षिकोत्सवका अवसरमा पार्टीले संख्यात्मक रूपमा सानो उपस्थिति देखिए पनि जिल्लाका विभिन्न पालिकामा प्रतिनिधिहरूलाई आ–आफ्नो अनुकूलताअनुसार कार्यक्रम मनाउन आह्वान गरिएकाले हेटौंडामा सीमित प्रतिनिधिको उपस्थिति रहेको स्पष्ट पारिन्।
मोक्तानले पार्टीले संगठन विस्तारसँगै व्यवहारमै श्रमदान र विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको बताइन्। उनका अनुसार पार्टीको श्रम अभियानमार्फत विकट क्षेत्रमा आवश्यक झोलुङ्गे पुल निर्माण, तटबन्धन, विपन्न परिवारका लागि घर निर्माण तथा विभिन्न सामाजिक सहयोगका कामहरू सञ्चालन भइरहेका छन्।
हेटौंडा उपमहानगरपालिका–१९ मा आवश्यक रहेको पुलसमेत श्रम अभियानमार्फत निर्माण गरिएको उल्लेख गर्दै उनले उक्त काम स्थानीय तहको बजेटबाट निर्माण गर्नुपरेको भए करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने अवस्था रहेको दाबी गरिन्। श्रमदानकै माध्यमबाट निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी मंसिर महिनामै उद्घाटन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन्। त्यस्तै, विपन्न परिवार लक्षित घर निर्माण तथा हस्तान्तरणका कामहरू पनि भइरहेको र केही घर निर्माणाधीन अवस्थामा रहेको उनले बताइन्।
उनले मकवानपुरवासीलाई विगतमा विश्वास गरेर मतदान गरेका राजनीतिक दलबाट अपेक्षित परिणाम प्राप्त नभएको भन्दै यसपटक श्रम संस्कृति पार्टीलाई अवसर दिन आग्रह गरिन्। जनताले भोगिरहेका दुःख, पीडा र समस्यालाई आफ्नै समस्या ठानेर समाधान गर्ने तथा काममार्फत परिणाम देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रम अभियानबाट समृद्ध नेपालको वास्तविक स्वरूप देखाउने दाबी गरिन्।
हेटौंडालाई समृद्ध सहरका रूपमा विकास गर्ने, बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने, सीपविहीन युवालाई सीप सिकाउने तथा स्थानीय उत्पादनलाई आफ्नै गाउँठाउँमा बजारीकरण गर्ने वातावरण निर्माण गर्नु पार्टीको प्राथमिकता रहेको उनको भनाइ थियो। उनले श्रम संस्कृति पार्टीलाई अबको अन्तिम विकल्पका रूपमा प्रस्तुत गर्दै जनताको साथ र सहयोगबाट मात्रै यी लक्ष्य पूरा गर्न सकिने बताइन्।
पार्टी अध्यक्ष हर्क साम्पाङका अभिव्यक्ति र सामाजिक सञ्जालका स्टाटसलाई लिएर विभिन्न प्रतिक्रिया आउने गरेको प्रसंग उल्लेख गर्दै मोक्तानले व्यक्तिका अभिव्यक्तिभन्दा उनले गरेका काम र योगदानका आधारमा मूल्यांकन गर्न आग्रह गरिन्। व्यक्तिले के लेख्यो र के बोल्यो भन्नेभन्दा उसले समाज र राष्ट्रका लागि के काम गर्यो भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
उनले समाजलाई जात, धर्म र राजनीतिक आस्थाका आधारमा विभाजन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै एउटै परिवार र समाजका सदस्यहरूबीच समेत राजनीतिक विभाजन बढ्नु दुर्भाग्यपूर्ण भएको बताइन्। एकअर्काको खुट्टा तान्ने र नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति त्यागेर सबै एकजुट भई राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको आग्रह थियो।
मकवानपुरमा हाल पार्टीका सक्रिय प्रतिनिधिको संख्या सीमित भए पनि काम र विश्वासका आधारमा आगामी दिनमा हजारौँको संख्यामा संगठन विस्तार गर्न सकिने विश्वास उनले व्यक्त गरिन्। जिल्लालाई श्रमदान र श्रम संस्कृतिको पहिचानसहित अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टी संगठन निर्माणमा अध्यक्ष युनिस लामाको योगदानको समेत प्रशंसा गरिन्। आफ्ना साना छोराछोरीलाई समेत साथमा लिएर जिल्लाभर संगठन विस्तारमा सक्रिय रहेको उनको भनाइ थियो। अध्यक्ष लामालाई थप जिम्मेवारी र अवसरका साथ अगाडि बढाउन जिल्ला तथा केन्द्रीय तहका सबै प्रतिनिधिको साथ र समर्थन आवश्यक रहेको उनले बताइन्।

यसैबीच, पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवकै अवसरमा जिल्ला समितिका अध्यक्ष युनिस लामाले पार्टीले एक वर्षको अवधिमा सञ्चालन गरेका गतिविधि तथा उपलब्धिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले प्रतिवेदनमार्फत पार्टीको संगठन विस्तार, श्रमदान अभियान, सामाजिक सहयोग तथा विकास निर्माणका गतिविधिबारे उपस्थित सहभागीहरूलाई जानकारी गराएका थिए।


वार्षिकोत्सव कार्यक्रमकै अवसर पारेर पार्टीले तीन जना नयाँ सदस्यलाई संगठनमा प्रवेश गराएको छ। पार्टी प्रवेश गर्नेहरूमा हरिसिंह वाइबा, मन्जुर मिया र विष्णुमाया स्याङतान रहेका छन्। नवप्रवेशी तीनै जनालाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामा (बज्यु) ले सदस्यता कार्ड हस्तान्तरण गरेका थिए।

जिल्ला सचिव युवराज राईले सञ्चालन गरेको उक्त कार्यक्रमको सभाध्यक्षता जिल्ला अध्यक्ष युनिस लामाले गरेका थिए। अध्यक्ष लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमको समापन गरेका थिए।

पार्टी स्थापना भएको पहिलो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमले संगठनको एकवर्षे गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा श्रम, उत्पादन, सामाजिक सेवा र संगठन विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

















