हेटौंडा । सचेत नागरिक समूहले जिल्ला प्रहरी कार्यलय मकवानपुरको हिरासतमा रहेका ६ जना युवाहरूको रिहाइको माग गर्दै नाराबाजी गरेको छ । जिल्ला प्रहरी कार्यलय र हेटौंडा अस्पतालको अगाडि रहेको महेन्द्र राजमार्ग जाम गरि आन्दोलनकारीले टाएर बालेर चक्काजाम गरेका हुन् ।

सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न पाइँदैन भन्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले विगत चैत्र ३१ गते हेटौंडा अस्पतालमा झुम्ड्याएको मदन भण्डारीको ठाउँमा हेटौंडा अस्पतालको बोर्ड राखिएको थियो । उक्त कार्यमा सहभागी भएको भन्दै जिल्ला प्रहरी कार्यलयले ६ जना युवाहरूलाई हिरासतमा राखी आज म्याद थप गरिएको छ । छलफल गरि छोडिदिन्छौँ भन्ने बहानामा बोलाएर म्याद थप गरि हिरासतभित्रै राखिएकोले युवाहरूलाई तत्काल रिहा गर्न माग गर्दै सचेत नागरिकको तर्फबाट चक्काजाम गरेको हो ।

चाइनागेट निरको मुल सडक खण्डमा टाएर बालेर गरेको चक्काजाममा आन्दोलनकारीले विभिन्न माग राखी नाराबाजी समेत गरेको छन् । जसमा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न पाइँदैन, सरकारी सम्पत्ति संस्थागत गर्न पाइँदैन, पार्टीकरण गर्न पाइँदैन, हिरासतमा भएका युवाहरूलाई रिहा गर, एमाले सिडियो चाइँदैन भन्ने जस्ता नाराहरु रहेका छन् । लगभग एक घन्टासम्म गरेको चक्काजाम कार्यक्रममा आन्दोलनकारीले वैशाख ५ गते सिमाचोकमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।














