हेटौंडा। नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल स्कुटर दुर्घटनामा परी घाइते भएका छन्। अध्यक्ष पोख्रेलले आफैंले चलाएको स्कुटर हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ पुष्पलाल पार्क अगाडि भित्री सडक खण्डमा दुर्घटना हुन पुगेको हो।
अध्यक्ष पोख्रेलले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ। उनी हेटौडा ४ नम्बरको कमल डाँडास्थित आफ्नो घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी लडेका उनलाई त्यहाँका स्थानीयहरूले देखेलपछि त्यहाँ वरपर रहेका स्थानीयहरूले उपचारको लागि हेटौडा अस्पताल पुर्याएको प्रहरीले बताएको छ।
स्कुटरबाट दुर्घटनामा परेका अध्यक्ष पोख्रेलको टाउको निधार तथा दायाँबायाँ हातमा चोट लागेको छ। बेहोस अवस्थामा रहेका उनलाई आइसियुमा राखी उपचार भइरहेको छ। उपचार पश्चात् भने उनको होस् अहिले भने खोलिसकेको प्रहरीले बताएको छ।














