आगामी निर्वाचन २०८२ मा कम्युनिस्ट एकता र ध्रुवीकरणको आह्वान गर्दै विप्लव ‘सी’लाई साझा उम्मेदवार बनाउनुपर्ने धारणा

हेटौंडा, पुस १५ गते । आगामी निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम ‘सी’ले कम्युनिस्ट, बामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य, एकता र ध्रुवीकरण अपरिहार्य भएको बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमार्फत उनले समय र परिस्थितिले राजनीतिक दलहरूमाथि दबाब सिर्जना गरिरहेको उल्लेख गर्दै विचार र व्यवहार मिल्ने पार्टी तथा व्यक्तिहरू दीर्घकालसम्म अलग–अलग रहन नसक्ने दाबी गरेका छन्। उनका अनुसार नेपाली राजनीतिमा नयाँ–नयाँ समीकरण, एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र बन्दै गएको छ।

राम ‘सी’ले आफूलाई ‘नयाँ’ भनेर प्रस्तुत गर्ने केही राजनीतिक पात्रहरूलाई ठगी, देशद्रोह र विदेशी एजेन्डासँग जोड्दै कडा आलोचना गरेका छन्। साथै, पुराना दलका अधिकांश नेता–कार्यकर्ता भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै भ्रष्टाचारविरुद्ध कठोर कारबाही आवश्यक रहेको बताएका छन्।

उनले कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिएर स्वच्छ छवि र इमानदार नेतृत्वलाई देशको जिम्मेवारी सुम्पनुपर्नेमा जोड दिएका छन्। सोही सन्दर्भमा उनले सबै कम्युनिस्टहरूको साझा विकल्पका रूपमा नेकपा (माओवादी) का महासचिव विप्लव ‘सी’लाई उम्मेदवार बनाउने समय आएको धारणा व्यक्त गरेका छन्।

स्टाटसमा उनले पद, प्रतिष्ठा र अहंकार त्यागेर एकतामा जोड दिन आग्रह गर्दै देशको रक्षा, जनताको सेवा, उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र र समाजवादी गणतन्त्रको लक्ष्यतर्फ अग्रसर हुने नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, आगामी निर्वाचनमा ‘नयाँ ठग र भ्रष्टाचारी’लाई बहिष्कार गरी नेकपा (माओवादी) र यसको चुनाव चिन्ह गुलाफमा मतदान गर्न आह्वान गरेका छन्।

राम ‘सी’को भनाइमा, वर्तमान संसदीय व्यवस्थालाई समाजवादी गणतन्त्रतर्फ रूपान्तरण गर्ने प्रक्रियामा कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकता निर्णायक हुने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.