१३ बुँदे मागसहित नेकपा माओवादीको समाजवादी युवा जागरण अभियान हेटौंडामा समापन

हेटौडा, पुस ३० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा सञ्चालन गरिएको समाजवादी युवा जागरण अभियान हेटौंडामा आयोजित जागरण सभासँगै सम्पन्न भएको छ। पश्चिम कञ्चनपुरबाट पुष २० गते सुरु भएको अभियान विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा आएर समापन गरिएको हो।

पत्रकार सम्मेलनमा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले सर्वपक्षीय अन्तरिम सरकार गठनलगायत १३ बुँदे मागसहित अभियान सुरु गरिएको जानकारी दिए। अभियानका संयोजक तथा केन्द्रीय सदस्य प्रेम सीले कञ्चनपुरदेखि हेटौंडासम्म ४४ वटा विभिन्न कार्यक्रम आयोजना गरिएको बताए।

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले हिजो हेटौंडा–१९ बस्तीपुरमा जनजागरण अभियान टोलीलाई स्वागत गरिएको उल्लेख गर्दै देश अहिले गम्भीर संकटको अवस्थामा रहेको बताएको छ। “देश खरानीको जगमा उभिन खोजिरहेको वर्तमान परिस्थितिमा नेकपा माओवादीले जनतासँग प्रत्यक्ष सम्पर्क गर्दै पार्टी संगठन विस्तार र जनजागरण अभियान सञ्चालन गरिरहेको छ,” उनले भने।

उहाँले जेन–जी युवाबाट उठेको विद्रोही आवाज र त्यसले देशमा पारेको प्रभावबारे टिप्पणी गर्दै सो क्रममा भएका घटनाको सत्य–तथ्यका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएको छ। राजनीतिक दलहरूलाई निषेध गर्दै निर्दलीय सरकारको अवधारणा अघि बढाइएको आरोप लगाउँदै उनले दलहरूको सर्वपक्षीय सहमतिबाट निर्वाचनमा जानु पर्ने धारणा राखे। आन्दोलनका क्रममा गल्ती गर्ने सत्तामा रहेका व्यक्ति वा युवालाई उक्साउने जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ थियो।

साथै उनले राष्ट्रिय स्वाधीनताको विषयमा पार्टीले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेकोछ। हेटौंडाको सन्दर्भमा स्थानीय सरकार निष्क्रिय देखिएको आरोप लगाउँदै सार्वजनिक जग्गा संरक्षण, सडक डिभिजन कार्यालयले अघि बढाएको २५–२५ गज सडक विस्तारका क्रममा पीडितलाई मुआब्जा सहित व्यवस्थापन गर्नुपर्ने विषयमा राज्यको पर्याप्त चासो नदेखिएको जन-गुनासो उठिरहेको बताए।

कञ्चनपुरदेखि हेटौंडासम्म सञ्चालन गरिएको समाजवादी युवा जागरण अभियानले विभिन्न विकृति, विसंगति र जनसरोकारका मुद्दा उठाउँदै सकारात्मक सन्देश दिन सफल भएको निष्कर्ष सहित कार्यक्रम सम्पन्न गरिएको पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.