विवेक खोलेर मतदान गर्न विशाल राज महतको हार्दिक अपिल

हेटौंडा, माघ १६ गते । सामाजिक अभियन्ता तथा अध्यक्ष विशाल राज महतले आसन्न निर्वाचनलाई लक्षित गर्दै विवेकपूर्ण मतदान गर्न आम नागरिकसँग हार्दिक अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश सार्वजनिक गर्दै मतलाई हल्का रूपमा नलिन आग्रह गरेका हुन्।

महतले आफ्नो सन्देशमा भनेका छन्, “मत केवल कागजमा हालिने छाप होइन, यो देश र हाम्रो भविष्यमा गरिने हस्ताक्षर हो।” उनले मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन, व्यवस्था र नारा फेरिए पनि जनताको दैनिकी, पीडा र अपेक्षामा अपेक्षित सुधार हुन नसकेको यथार्थ औंल्याएका छन्।

उनका अनुसार यो गुनासो भावनामा आधारित मात्र नभई जनताको प्रत्यक्ष अनुभवबाट आएको निष्कर्ष हो। व्यक्ति असल वा खराब हुने कुरा निधारमा नलेखिने भन्दै उनले नेतृत्वको मूल्यांकन व्यवहार, विगतको इतिहास र वर्तमान कार्यशैलीबाट गर्नुपर्नेमा जोड दिएका छन्।

महतले गलत उदाहरण प्रस्तुत गर्दै दैनिक मदिरा सेवनले लिभर बिग्रने र गैरजिम्मेवार चालकले दुर्घटना निम्त्याउने जस्तै गलत नेतृत्वले देशलाई संकटतर्फ लैजाने निश्चित परिणाम हुने बताएका छन्। उनले संविधान र व्यवस्था मात्र पर्याप्त नहुने र त्यसलाई सञ्चालन गर्ने नेतृत्व नै योग्य, इमानदार र जिम्मेवार हुनुपर्ने स्पष्ट पारेका छन्।

“विचार पवित्र भए पनि त्यसलाई बोक्ने व्यक्ति नै स्वार्थी र अनैतिक भयो भने त्यो विचार व्यवहारमा उतार्न सकिँदैन,” महतले उल्लेख गरेका छन्। पार्टी, नातागोता वा भावनाका आधारमा होइन, विवेक र चेतनाका आधारमा मतदान गर्नुपर्ने उनको जोड छ।

उनले एक मतले रोजगारी, शिक्षा, स्वास्थ्य र समग्र देशको भविष्यको दिशा तय गर्ने भएकाले जोसमा होइन होसमा निर्णय लिन आग्रह गरेका छन्। गलत नेतृत्व रोजेर पछुताउनु भन्दा सही नेतृत्व छान्नु नै साँचो देशप्रेम भएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.