हेटौँडा, माघ १८ गते । गएको माघ १६ गते अन्दाजी ७:३० बजे जिल्ला मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसे स्थित चेकपोइन्ट अगाडि सडकमा सवारी साधन चेक जाँचका क्रममा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ।

आँप चौर तर्फबाट भैसे तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४२७० नम्बरको योद्धा पिकअप गाडीलाई रोक्न खोज्दा चालकले गाडी नरोकी हेटौंडा बजार तर्फ भागेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाडीको पिछा गरेको थियो।
प्रहरी टोलीलाई देख्ना साथ लोकप्रिय मोड नजिक गाडी रोकी चालक फरार भएको र गाडीलाई रित पूर्वक खानतलासी गर्दा पिकअप गाडीको पछाडिको ढालाभित्र लुकाइ छिपाई ल्याइएको अवस्थामा १७२ किलो ६०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरीले जनाएको छ।
बरामद गरिएको लागू औषध गाँजा र पिकअप गाडी प्रहरी नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जानकारी दिएको छ।














