हेटौँडा, माघ २८ गते । अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले अनुभवविनाको ज्ञान र जनताबाट टाढा रहेका नेताहरूको कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् राखेको स्टाटसमा मतदानको महत्व र सही प्रतिनिधि छनोटको आवश्यकता स्पष्ट रूपमा औंल्याएका हुन्।
महतले ‘आप’को उदाहरण दिँदै अनुभव नगरी गरिने गहिरा व्याख्या र भाषण केवल कागजी हुने बताएका छन्। “जसले कहिल्यै आप खाएकै छैन, उसले आपबारे हजार पानाको किताब लेख्ला, तर आप कति मिठो हुन्छ भन्ने अनुभूति उसलाई हुँदैन,” भन्दै उनले अनुभवविनाको ज्ञान जनताको जीवनसम्म नपुग्ने उल्लेख गरेका छन्।
उनका अनुसार सामाजिक भावनासँग नजोडिएका, जनताको दुःख–सुख नछोएका व्यक्तिहरू भाषण र चिल्ला गफमा मात्रै सीमित हुन्छन्। ताली पिटिने भाषण भए पनि ती शब्दहरूले जनताको वास्तविक जीवनमा कुनै असर नगर्ने उनको तर्क छ।
महतले आधुनिक र महँगो गाडीको उदाहरण दिँदै, गाडीभन्दा पनि चालकको नियत, अनुभव र जिम्मेवारी महत्वपूर्ण हुने बताएका छन्। “गाडी जति चम्किलो भए पनि चालक सही नभए गन्तव्य होइन, दुर्घटनातिर नै लैजान्छ,” भन्दै उनले मतदातालाई प्रतिनिधि छान्दा बाहिरी आवरण होइन, भित्री चरित्र हेर्न आग्रह गरेका छन्।
उनले पार्टीको झन्डा, ट्याग र खोलभन्दा माथि उठेर आफ्नै कर्मले जनताको बोझ बोकेका व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्। नक्कली पहिचान र भ्रम बेच्ने पात्रहरूबाट सचेत रहन पनि उनले आह्वान गरेका छन्।
अन्त्यमा महतले चेतावनी दिँदै भनेका छन्, “सही चालक नछान्दा दुर्घटना हुन्छ, र गलत प्रतिनिधि चुन्दा पूरै देश नै दुर्घटनामा पर्छ।” उनका यी शब्दहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।














