हेटौँडा, फागुन ३ गते । हेटौंडा उपमहानगरपालिकामा ‘सेटिङ’को संस्कृति मौलाउँदै गएको र जनताको आवाज बन्द कोठामा दबाइँदै गएको गम्भीर आरोप सार्वजनिक भएको छ। अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उपमहानगरपालिकामा फोहोर व्यवस्थापनदेखि शिक्षा, खानेपानी, वातावरण, खेलकुद खरिद र सामाजिक कार्यक्रमसम्म व्यापक बेथिति व्याप्त रहेको दाबी गरेका हुन्।

महतले फोहोर व्यवस्थापनको ठेक्का पाएको ग्रिन एन्ड सिटी कम्पनीको लापरबाहीका कारण डम्पिङ साइटमा बारम्बार आगलागी भइरहेको, त्यसबाट निस्कने विषालु धुवाँले नागरिक र जीवजन्तुको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको उल्लेख गरेका छन्। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा करोडौँ रुपैयाँ संकलन हुने फोहोर व्यवस्थापनबाट उपमहानगरपालिकाले जम्मा पाँच लाख रुपैयाँ मात्र राजस्व बुझेको तथ्य आफैंमा गम्भीर प्रश्न हो।
उनले अन्य उपमहानगरसँग तुलना गर्दै पारदर्शी टेन्डर प्रक्रिया नअपनाइनु, चर्को शुल्क उठाइनु र विवादित कम्पनीलाई पटक–पटक ठेक्का दिइनु राजस्व चुहावट र ‘सेटिङ’को स्पष्ट संकेत भएको बताएका छन्।
सामाजिक स्टाटसमा महतले विपन्न परिवारका लागि निःशुल्क खानेपानी जस्ता आधारभूत कार्यक्रम बन्द गरिएको, बालश्रम मुक्त घोषणा कार्यक्रम र कर्मचारी भर्नामा करोडौँ खर्च भए पनि उपलब्धि नदेखिएको आरोपसमेत लगाएका छन्। विद्यालयमा वितरण गरिने सेनेटरी प्याडको गुणस्तर कमजोर रहेको, खेलकुद सामग्री खरिदमा कमसल सामान दिई उच्च मूल्यमा बिल पास गरिएको आरोपले खरिद प्रक्रियामाथि नै प्रश्न उठेको उनको भनाइ छ।
त्यसैगरी, मापदण्डविपरीत मेला–महोत्सव सञ्चालन, खोलाबाट गिट्टी–बालुवा चोरी निकासी, राजमार्गमा अवैध ढाट सञ्चालन र उद्योगजन्य धुलो–धुवाँ नियन्त्रणमा उपमहानगर मौन बसेको आरोप पनि स्टाटसमा समेटिएको छ। लागू पदार्थको दुर्व्यसनमा फसिरहेका युवाका लागि छुट्याइएको पुनःस्थापना बजेट प्रभावकारी रूपमा विपन्न वर्गसम्म नपुगेकोप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।
महतले अब प्रत्येक विषयमा सूचनाको हक प्रयोग गरी औपचारिक रूपमा विवरण माग गरिने र जनताको कर तथा विश्वासको एक–एक हिसाब सार्वजनिक गरिने चेतावनी दिएका छन्। उनका अनुसार यो केवल गुनासो होइन, हेटौंडावासीको न्यायोचित माग हो र अब मौनता होइन, तथ्यसहितको जवाफदेहिता आवश्यक छ।














