काठमाडौँ, फागुन ९ गते । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागकी प्रमुख समिक्षा निरौलाले महानगरका प्रशासनिक सेवा, सञ्चार प्रणाली र भौतिक संरचनाहरूलाई पूर्ण रूपमा समावेशी र अपाङ्गतामैत्री बनाउन महानगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छिन्। नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाले काठमाडौँमा आयोजना गरेको नेतृत्व विकास कार्यक्रममा बोल्दै उनले महानगरको बजेट र स्रोतलाई अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा खर्च गर्ने प्रतिबद्धता जनाएकी छिन्।
कार्यक्रममा सहभागी बहिरा अपाङ्गता भएका व्यक्तिहरूले अस्पताल, अदालत र आपतकालीन अवस्थामा दोभासे नपाउँदा सञ्चारमा ठूलो अवरोध भोग्नुपरेको सवाल उठाएकामा त्यसलाई सम्बोधन गर्दै उनले आवश्यक परेका बखत तुरुन्तै उपलब्ध हुने गरी बोलाउनासाथ पाइने दोभासे सेवाको कार्यविधि तयार पारेर महानगरले बजेटको व्यवस्था गर्ने वाचा गरेकी छिन्। त्यसैगरी, दृष्टिविहीन सहभागीहरूले सडकका अवरोध र परीक्षाका समयमा लेखन सहयोगी पाउन हुने झन्झटका विषयमा ध्यानाकर्षण गराएपछि उनले फुटपाथका अवरोध हटाई सडकलाई सेतो छडीमैत्री बनाउन र जेब्रा क्रसिङमा ध्वनि संकेत राख्न पूर्वाधार विभागसँग समन्वय भइरहेको बताउँदै लेखन सहयोगीको प्रमाणीकरण र व्यवस्थापनका लागि संस्थाहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएकी छिन्।
सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएको रोजगारीको साझा समस्या र तालिम लिएर पनि बेरोजगार बस्नुपरेको गम्भीर गुनासोका सन्दर्भमा उनले अबका सीपमूलक कार्यक्रमहरूलाई केवल कोठाको तालिममा मात्र सीमित नराखी कार्यस्थलमै दिइने तालिमसँग जोडेर सिधै रोजगारी दिलाउने गरी कार्ययोजना बनाइएको प्रष्ट पारेकी छिन्। महानगरको आगामी बजेटमा आफ्ना वास्तविक आवश्यकताहरू समावेश गराउन वैशाख मसान्तभित्रै टोल र वडा स्तरबाट योजना छनोट गरी जेठ १० गतेभित्र प्रस्ताव पेश गर्न सहभागीहरूलाई आग्रह गर्दै उनले साना तर प्रभावकारी सुधारका माध्यमबाट काठमाडौँलाई सबैका लागि पहुँचयुक्त सहर बनाउन कार्यक्रममा उठेका सुझावहरूलाई नीतिगत तहमा समेट्ने वाचासमेत गरेकी छिन्।














