हेटौंडामा उल्लासपूर्ण रूपमा मनाइयो इद, मस्जिदहरूमा नमाज र शुभकामना आदानप्रदान

हेटौँडा, चैत ७ गते । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद-उल-फितर (इद) हेटौंडासहित देशभर शनिबार हर्षोल्लासका साथ मनाइएको छ। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि मुस्लिम समुदायले इद पर्व धूमधामका साथ मनाएका हुन्।

हेटौंडा–४ स्थित जामे मस्जिद मा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। बिहान साढे ७ बजे विशेष नमाज अदा गरेपछि उपस्थितहरूबीच अँगालो हाल्दै “इद मुबारक” भन्दै शुभकामना आदानप्रदान गरिएको मस्जिद समितिले जनाएको छ।

इदको अवसरमा हेटौंडासँगै काठमाडौं लगायत तराईका जिल्ला—बारा, पर्सा, रौतहट, बाँके र कपिलवस्तु मा पनि ठूलो संख्यामा मुस्लिम समुदाय भेला भई सामूहिक नमाज अदा गरेका छन्।

हेटौंडास्थित मस्जिदमा मात्रै करिब ५ सयभन्दा बढी श्रद्धालु सहभागी भएको जनाइएको छ। नमाजपछि एकअर्कासँग भेटघाट गर्दै खुसी साटासाट गर्ने परम्परालाई निरन्तरता दिइएको थियो।

इद पर्वका अवसरमा घरघरमा सेवइँ, खीर, मिष्ठान्न तथा विभिन्न मासुजन्य परिकार तयार पारिन्छन्। यी परिकारहरू परिवार, आफन्त तथा छिमेकीसँग बाँडेर आपसी सम्बन्ध अझ मजबुत बनाइने विश्वास रहेको छ।

रमजान महिनाभर गरिब, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्ने परम्परा पनि रहेको छ, जसलाई जकात तथा सदकाको रूपमा चिनिन्छ।

धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले समेत इद पर्व महत्वपूर्ण मानिन्छ। यस पर्वले समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.