सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न

काठमाडौं,बैशाख ५ गते । काठमाडौँ समावेशी अक्षर र अनुसन्धान संस्था सर्वोदयको आयोजनामा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित १० दिने ‘अनलाइन कन्टेन्ट क्रिएसन’ तालिम भव्य रूपमा सम्पन्न भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा चैत्र २६ गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालन भएको यस कार्यक्रममा सहभागीहरूले अडियो एडिटिङ, विज्ञापन निर्माण, युट्युब च्यानल व्यवस्थापन, गुगल डक्स, एक्सेल र डिजिटल कन्टेन्टमार्फत अनलाइन आयआर्जन गर्ने विभिन्न प्राविधिक सीपहरू सिक्ने अवसर पाएका थिए।

​समापन सत्रमा बोल्दै संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले वि.सं. २०७५ देखि दृष्टिविहीन व्यक्तिहरूको शैक्षिक र प्राविधिक विकासमा क्रियाशील रहेको संस्थाले पछिल्लो समय उद्यमशीलतासँग जोड्न अचार बनाउने, सिलाई बुनाई र कम्प्युटर तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। संस्थाकी कार्यसमिति सदस्य रोजिना पोखरेलले कार्यक्रममा सहभागीहरूको सक्रियताप्रति खुसी व्यक्त गर्दै दृष्टिविहीनतालाई जीवनको बाधा नठानी आफ्नो करियर र उद्देश्यमा स्पष्ट भएर अगाडि बढ्न सबैलाई आग्रह गरिन्। उनले विद्यार्थी, शिक्षक र सञ्चारकर्मीहरूको सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको कुरा व्यक्त समेत गरिन्।

​जुममार्फत सञ्चालित यस कार्यक्रमका बारेमा सहभागीहरू सन्तोष न्यौपाने र दिगम्बर दासले आफ्ना अनुभव साट्दै प्रशिक्षकहरूले दृष्टिविहीनमैत्री प्रविधि प्रयोग गरेर सिकाएकाले आधुनिक डिजिटल संसार र अनलाइन अर्निङका स्रोतहरू बुझ्न सहज भएको बताए। उनीहरूले अब आफूहरू विज्ञापन निर्माण र डिजिटल प्लेटफर्ममार्फत आत्मनिर्भर हुन सक्ने आत्मविश्वास बढेको उल्लेख गरे।

​कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष युवराज वाग्लेले प्रशिक्षकहरू सौगात वाग्ले, आशिर्वाद भट्टराई र आर्या निरौलालाई धन्यवाद दिँदै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारलाई आर्थिक रूपमा सबल बनाउन संस्थाले निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे। नवलपुरमा विधिवत दर्ता भई समाज कल्याण परिषदमा समेत आबद्ध यस संस्थाले १० दिनसम्म चलाएको तालिममा ३० जना दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.