एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

​भक्तपुर,बैशाख ११ गते । ​दृष्टिविहीन पाठकका लागि चुनौतीको रूपमा रहेको मुद्रित पुस्तक एक्काइस जना दृष्टिविहीनहरू पहुँचयुक्त ढङ्गले पढ्न सक्ने भएका छन्। ​सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको आर्थिक सहयोग तथा अपाङ्गता भएका महिलाहरूको नेतृत्वमा सञ्चालित संस्था एक्सेस प्लानेटको आयोजनामा चार दिनसम्म सञ्चालित कार्यक्रममा सहभागी दृष्टिविहीनहरूले मुद्रित पुस्तक मोबाइल फोनमार्फत स्क्यान गरेर पढ्न सक्ने हुनुका साथसाथै संस्थाले सञ्चालनमा ल्याएको समावेशी पुस्तकालय नामक वेबसाइट मार्फत सहज रुपमा पुस्तक पढ्न सिकेका छन्। चार दिनसम्म चलेको कार्यक्रमको सहजकर्ताको रूपमा सञ्जय अर्याल रहेका थिए।

​कार्यक्रमको अन्तिम दिन समापन समारोहमा बोल्दै आयोजक संस्थाकी सचिव शान्ता पाण्डेले स्वागत मन्तव्य राख्दै संस्थाले अपाङ्गता भएका महिला तथा बालबालिकाहरूको शिक्षा, सूचनामा पहुँच र क्षमता विकासमा काम गरिरहेको बताउँदै प्रविधिको माध्यमद्वारा ज्ञानमा पहुँच बढाउनु संस्थाको मुख्य उद्देश्य रहेको कुरा प्रस्ट्याइन। त्यस्तै कार्यक्रमको विशेष अतिथि तथा सूर्य विनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन र आवश्यकताको आधारमा कार्यक्रमको लागि बजेट विनियोजन गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि शिक्षा, रोजगारी र आयआर्जनका लागि तालिम र सहयोगी सामग्रीहरू उपलब्ध गराउन आफू सदैव प्रतिबद्ध रहेको कुरा समेत व्यक्त गरिन्।

​सोही नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष प्रदीप कार्कीले आफूले स्थानीय तहमार्फत अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। साथसाथै कार्यक्रममा उपस्थित रेडक्रस बालकोट शाखाका सचिव उमेश सिलवालले रेडक्रस सधैँ मानवीय सेवामा काम गर्ने संस्था भएकाले आफूहरू सधैँभरि अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार काम गर्न तयार रहेको कुरा व्यक्त गर्नुका साथसाथै अपाङ्गता भएका व्यक्तिहरूको लागि रेडक्रस बाल्कोट शाखाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत कार्यक्रम मार्फत जनाए।

​समापन कार्यक्रममा सहजकर्ता अर्यालको संयोजनमा दृष्टिविहीन सहभागीहरूले चार दिनमा सिकेको कुरालाई प्रत्यक्ष रूपमा प्रदर्शन गरेका थिए। यसका अतिरिक्त समावेशी पुस्तकालय डट ओआरजी नामक वेबसाइटमार्फत नियमित रूपमा एक्सेस प्लानेटले पहुँचयुक्त ढाँचामा दृष्टिविहीनहरूको शैक्षिक प्रयोजनका लागि पुस्तक उपलब्ध गराउने उल्लेख गरेको छ। कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद प्रमिला कुलुङ रहेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाकी कार्यकारी निर्देशक लक्ष्मी नेपालले गरेकी थिन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.