काठमाडौं,बैशाख १६ गते । नेपाली सेनाले आगामी बर्सातको समयमा हुनसक्ने बाढी, पहिरो, डुबान तथा नदी कटान जस्ता विपद्का जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जारी गरेको प्रेस विज्ञप्तिमा विगतका विपद्का अनुभवलाई आधार बनाएर सम्भावित क्षति न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै योजना निर्माण भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार नेपाली सेनाले मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वतयारीका विभिन्न कार्यहरू अघि बढाइरहेको छ। यसैक्रममा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा सुकुम्बासीसँग सम्बन्धित विवरण संकलनबारे आएका समाचारप्रति स्पष्ट पार्दै सेनाले त्यस्तो कार्य राहत वितरण वा अन्य उद्देश्यले नभई विपद् व्यवस्थापनको तयारीस्वरूप गरिएको जनाएको छ।
नेपाली सेनाका स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने सम्भावित विपद्का जोखिमको मूल्यांकन गर्न तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ। उक्त विवरणले विपद् आएको अवस्थामा सुरक्षित रूपमा फौज तैनाथ गर्ने, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास सेनाले व्यक्त गरेको छ।
नेपाली सेनाले विपद् प्रतिकार्यका लागि तयारीलाई सुदृढ बनाउँदै सम्बन्धित निकाय तथा समुदायसँग सहकार्य बढाउने प्रतिबद्धता पनि जनाएको छ।















