जीवनरक्षक औषधिको आपूर्ति र व्यवस्थापन सुधार गर्न सरकार सक्रिय, विभागलाई विस्तृत विवरण पेश गर्न निर्देशन

काठमाडौं,जेठ २१ गते। जीवनरक्षक तथा क्यान्सरविरुद्ध प्रयोग हुने औषधिको आपूर्ति र व्यवस्थापनमा देखिएका समस्याका विषयमा औषधी व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबीच बुधबार विस्तृत छलफल भएको छ।

छलफलमा विशेषगरी क्यान्सरविरुद्धका औषधि तथा Immunosuppressant समूहका औषधिको उपलब्धता, आपूर्तिसम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासा तथा त्यसको वास्तविक अवस्थाबारे समीक्षा गरिएको थियो। साथै औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक उपायहरूबारे पनि विचार–विमर्श भएको जनाइएको छ।

बैठकमा औषधि आयात तथा आपूर्तिको अनुमति प्राप्त गरेपछि पनि सम्बन्धित कम्पनी वा आपूर्तिकर्ताले औषधि आपूर्ति नगरेको अवस्थामा अपनाउन सकिने कानुनी तथा प्रशासनिक विकल्पहरूमाथि समेत छलफल भएको थियो। यस्ता अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने विषयमा समेत सहमति भएको बताइएको छ।

त्यसैगरी, जीवनरक्षक (Life Saving Drugs) औषधिको उपलब्धता र आपूर्ति अवस्थाको यथार्थ जानकारी संकलन गर्न मन्त्रालयले औषधी व्यवस्था विभागलाई विभिन्न विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। निर्देशनअनुसार जीवनरक्षक औषधि आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षको आयात परिमाण, वार्षिक खपतको विवरण तथा यस्ता औषधिको आपूर्तिका लागि अनुमति माग्दै विभागमा पेस भएका निवेदनहरूको विवरण उपलब्ध गराउन भनिएको छ।

बैठकमा औषधी व्यवस्था विभागअन्तर्गत सञ्चालनमा रहेका सफ्टवेयर प्रणालीको सुधार, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, वेबसाइटमा उपलब्ध विवरण नियमित रूपमा अद्यावधिक गर्ने तथा डिजिटल प्रणालीको क्षमता विस्तार गर्ने विषयमा पनि विशेष छलफल भएको थियो।

मन्त्रालयले औषधिको आपूर्ति व्यवस्थापनलाई थप पारदर्शी, प्रभावकारी र जनमुखी बनाउन आवश्यक सुधारका कदमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.