“जेनजीको रगत बिर्सिने गल्ती नगरोस् सरकार” — घाइते आन्दोलनकारीको पीडामाथि विशालराज महतको प्रश्न

हेटौंडा,असार ६ गते। सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” का अध्यक्ष विशालराज महतले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको अवस्था प्रति सरकार गम्भीर नभएको भन्दै प्रश्न उठाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमार्फत आन्दोलनका बेला परिवर्तनका लागि सडकमा उत्रिएका युवाहरू आज उपचार खर्च जुटाउन समेत संघर्ष गरिरहनु परेको उल्लेख गरेका हुन्।

महतले आन्दोलनका क्रममा घाइते भएका एक युवाले “सरकारले गर्नुपर्ने काम गरेन” भन्दै गुनासो गरेको प्रसंग उल्लेख गर्दै, त्यस्तो पीडा सुन्दा मन दुख्ने बताएका छन्। उनले जसको संघर्ष, आँसु र रगतको आधारमा सत्ता बनेको हो, आज त्यही पुस्ताको आवाज बेवास्ता हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

उनले आन्दोलनका दिनमा घाइते युवाहरूलाई “परिवर्तनका योद्धा” भनिए पनि अहिले उनीहरू उपचारका लागि ऋण खोज्न बाध्य भएको अवस्था दुःखद भएको बताएका छन्। “उनीहरूलाई दया होइन, न्याय चाहिएको हो। सम्मानपूर्वक बाँच्ने आधार चाहिएको हो,” महतले लेखेका छन्।

स्टाटसमार्फत उनले आन्दोलनका बेला सक्रिय नरहेका कतिपय व्यक्तिहरू अहिले सत्ता, पद र अवसरको केन्द्रमा पुगेको उल्लेख गर्दै, वास्तविक आन्दोलनकारीहरू भने अझै पनि घाउ, ऋण र अपेक्षा बोकेर बाहिरै रहेको बताएका छन्। उनले कोही प्रदेश चुनावको तयारीमा, कोही स्थानीय चुनावको टिकटको हिसाबमा लागेको टिप्पणी गर्दै आन्दोलनका वास्तविक ‘जेनजी’ युवाहरूलाई बिर्सिएको आरोप लगाएका छन्।

महतले इतिहासले सत्तामा पुगेपछि भर्‍याङलाई लात हान्नेहरूलाई कहिल्यै माफी नदिने उल्लेख गर्दै आन्दोलनका घाइते, सहिद परिवार र संघर्षशील युवाहरूको न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्। उनले विश्वास टुटेपछि कुर्सी भाषणले नभई न्यायले मात्र जोगिने चेतावनीसमेत दिएका छन्।

उनको उक्त स्टाटस सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ भने धेरै प्रयोगकर्ताहरूले आन्दोलनमा घाइते भएका युवाहरूको अवस्था प्रति राज्य जिम्मेवार बन्नुपर्ने प्रतिक्रिया दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.