पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, नयाँ मूल्य आज रातिदेखि लागू

काठमाडौं, असार १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको आधारमा नयाँ मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

निगमका अनुसार नयाँ मूल्य आज राति १ बजेदेखि लागू हुनेछ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। यसअघि पेट्रोलको मूल्य क्रमशः २१४ रुपैयाँ ५० पैसा, २१६ रुपैयाँ र २१७ रुपैयाँ थियो।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ कायम गरिएको छ। यसअघि यी क्षेत्रहरूमा डिजेल तथा मट्टितेलको मूल्य क्रमशः २२२ रुपैयाँ ५० पैसा, २२४ रुपैयाँ र २२५ रुपैयाँ रहेको थियो।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५६६ निर्धारण गरिएको छ। पोखरा र भैरहवाका लागि भने ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

एलपी ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १४.२ केजी सिलिन्डरको २०६० रुपैयाँ र ७.१ केजी सिलिन्डरको १०३० रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा आएको सुधार तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो।

नोटअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.