चितवन, साउन ३ गते । लगातार वर्षा भइरहेको तथा आगामी घण्टामा वर्षा अझ बढ्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणघाट–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार धादिङलगायत छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेका कारण रातिको समयमा सडक यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।
प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ। साथै, यात्रु तथा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनले क्षमायाचना गर्दै आवश्यक सहयोग, समन्वय तथा जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।
आकस्मिक सहायता आवश्यक परे नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल नेपाल (१११४), जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (१२३४) तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको सम्पर्क नम्बर ९८५५०१३९९ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा मौसम र सडकको अवस्थालाई ध्यानमा राखी अनावश्यक यात्रा नगर्न तथा सुरक्षा निकायका निर्देशन पालना गर्न समेत आग्रह गरिएको छ।














