मनहरी, साउन ५ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ मा स्थानीय स्तरमा रहेका जीविकोपार्जन तथा रोजगारीका अवसर र त्यससँग जोडिएका चुनौतीबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शान्तिका लागि साझा अभियान (कोक्याप) ले स्थानीय सरकारको नीति, योजना तथा कार्यक्रमअन्तर्गत आयोजना गरेको कार्यक्रममा वडाभित्र रहेका सम्भावित रोजगारीका क्षेत्र, तिनको सदुपयोग र विकासमा देखिएका अवरोधबारे स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाबीच विस्तृत छलफल भएको हो।
मंगलबार आयोजित कार्यक्रममा सहभागीहरूले परम्परागत कृषि तथा पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउने हो भने स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका छन्। तरकारी तथा फलफूल खेती, पशुपालन, माछापालन, कुखुरापालनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेको उनीहरूको निष्कर्ष छ।
यस्तै, गलैँचा उद्योग, टेलरिङ, सैलुन, डेरी, बेकरी, मिल, घट्ट, खुद्रा व्यापार, ग्यारेज, जैविक मल उत्पादन, साबुन निर्माण तथा चोयाबाट सामग्री उत्पादनजस्ता घरेलु उद्योग मार्फत पनि स्थानीय स्तरमा स्वरोजगारका अवसर विस्तार गर्न सकिने कार्यक्रममा औँल्याइएको छ। त्यसैगरी क्रसर उद्योग, इट्टाभट्टा, फर्निचर उद्योग, पर्यटन, केराको रेशा उत्पादन तथा होटल व्यवसायलाई समेत सम्भावित रोजगारीका क्षेत्रका रूपमा पहिचान गरिएको छ।
छलफलका क्रममा स्थानीयले रोजगारीका सम्भावना हुँदाहुँदै पनि विभिन्न चुनौतीका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताएका छन्। उन्नत जातको बीउबिजन, मल र सिँचाइको अभाव, उन्नत पशुपक्षी उपलब्ध नहुनु, सीप तथा व्यावसायिक तालिमको कमी, माटो परीक्षणको व्यवस्था नहुनु, वन्यजन्तुको आक्रमण, बाढी–पहिरोको जोखिम तथा बजार व्यवस्थापन कमजोर हुँदा किसान समस्यामा परेको सहभागीहरूको भनाइ थियो।
घरेलु उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव, आवश्यक स्रोत–साधनको कमी र उत्पादित सामग्रीको बजारीकरणमा समस्या रहेको पनि कार्यक्रममा उठाइएको छ। ठूला उद्योग सञ्चालनमा भने मध्यवर्ती (बफरजोन) क्षेत्रसम्बन्धी नियम प्रमुख अवरोध बनेको स्थानीयको गुनासो छ। बफरजोनभित्र क्रसर र फर्निचर उद्योग सञ्चालनमा रोक रहेकाले लगानी गर्न कठिन भएको उनीहरूले बताएका छन्। पर्यटन तथा होटल व्यवसाय विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा समेत अझै ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

कार्यक्रममा मनहरी गाउँपालिका–२ का वडाध्यक्ष तथा प्रमुख अतिथि राजकुमार पाख्रीनले विगतका आर्थिक वर्षहरूमा सडक, खानेपानी, विद्युत् प्रसारणलगायत भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताए। आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको, कृषि तथा पशुपालन क्षेत्रमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा पनि स्थानीय आवश्यकता अनुसार योजना तर्जुमा गरी बेरोजगारमुक्त वडा निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
कोक्याप बागमती प्रदेशकी कार्यक्रम अधिकृत सुजता पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरू सुकराम मुक्तान, कृष्णबहादुर रुम्बा, चमेलीमाया थिङ, कमला विक, सञ्चारकर्मी सूर्यबहादुर गोले तथा टोल विकास संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत स्थानीय सरकारले नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा स्थानीय आवश्यकता र नागरिकका सुझावलाई समेट्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।













