हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

हेटौंडा, साउन ६ गते । हेटौंडा उपमहानगरपालिका–४ मा मधुमेहका बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा, हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्र, हेटौंडा–४ को व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा ४३ जना मधुमेहका बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको हो।

शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीले सहभागीहरूको आँखाको परीक्षण गर्नुका साथै मधुमेहका कारण आँखामा पर्न सक्ने असर, समयमै परीक्षणको आवश्यकता तथा आँखाको स्वास्थ्य जोगाउने उपायबारे आवश्यक परामर्शसमेत दिएका थिए।

वडा कार्यालयले मधुमेहका बिरामीमा देखिन सक्ने आँखासम्बन्धी जटिलतालाई समयमै पहिचान गरी उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। यस्ता स्वास्थ्य प्रवर्द्धनमूलक कार्यक्रमले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.