हेटौंडा, साउन १५ गते । मकवानपुरका व्यवसायिक बंगुरपालक किसानहरूले पशु बिमा प्रक्रियामा बिमा कम्पनीहरूले गरेको लापरवाहीका कारण आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन्। किसानहरूको समस्याप्रति ध्यानाकर्षण गराउँदै सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सरकारले तत्काल छानबिन गरी किसानको हित सुनिश्चित गर्न माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले बिमा भनेको जोखिममा साथ दिने सुरक्षा व्यवस्था भएको उल्लेख गर्दै जोखिम देखिएपछि जिम्मेवारीबाट पन्छिनु बिमाको उद्देश्यविपरीत भएको बताएका छन्।
उनका अनुसार सरकारले पशु बिमामा किसानलाई ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको भए पनि मकवानपुरका धेरै व्यवसायिक बंगुरपालक किसानहरूले समयमै पशु बिमा गर्न खोज्दा सम्बन्धित बिमा कम्पनीहरूले विभिन्न बहाना बनाउँदै बिमा गर्न अस्वीकार गरेका थिए। “ट्याग छैन”, “प्राविधिक उपलब्ध छैन”, “एक हप्ता पछि आउनुहोस्” जस्ता कारण देखाएर किसानलाई बिमाबाट वञ्चित गरिएको उनको आरोप छ।
महतका अनुसार हालसम्म मकवानपुर जिल्लामा एक हजारभन्दा बढी बंगुर मरिसकेका छन्। समयमै बिमा हुन नसक्दा किसानहरूले लाखौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको र धेरै किसान आर्थिक रूपमा गम्भीर समस्यामा परेको उनले बताएका छन्। यदि समयमै बिमा भएको भए किसानको आर्थिक क्षति धेरै हदसम्म न्यूनीकरण हुन सक्ने उनको भनाइ छ।
बंगुरपालक किसानहरू अहिले बाध्य भएर हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन पुगेका छन्। महतले सम्बन्धित निकाय अझै पनि मौन बसे किसानमाथिको अन्यायलाई संरक्षण गरेको ठहरिने चेतावनी दिएका छन्।
किसानहरूको मुख्य माग बिमा गर्नबाट रोक्ने तथा विभिन्न बहाना बनाउने सम्बन्धित बिमा कम्पनीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, सबै योग्य किसानको पशु बिमा तत्काल सुनिश्चित गर्नुपर्ने तथा बिमा नहुँदा किसानले भोग्नुपरेको क्षतिको जिम्मेवारीबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने रहेको छ।
“किसानलाई बचाउने कि बहानालाई संरक्षण गर्ने भन्ने निर्णय अब सरकारले गर्नुपर्ने बेला आएको छ,” महतले उल्लेख गरेका छन्। साथै उनले किसानको पसिना, लगानी र भविष्यसँग खेलबाड नगर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।













