बुढीचौर, साउन २१ गते । मकवानपुरमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुढीचौर पछिल्लो समय युवा पुस्ताको आकर्षक घुम्ने गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। हरेक दिन जिल्लाका विभिन्न स्थानका साथै बाहिरी क्षेत्रबाट पनि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।

स्थानीयका अनुसार विशेषगरी युवा पुस्ता बुढीचौरमा पुगेर मनोरञ्जन गर्नुका साथै टिकटक, रिल्स तथा अन्य सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ। उनीहरूले यहाँ खिचेका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा बुढीचौरको प्राकृतिक सौन्दर्य थप प्रचार–प्रसार भइरहेको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको देखिन्छ।

पर्यटकको बढ्दो आगमनसँगै बुढीचौरमा फोहोर व्यवस्थापन भने चुनौतीका रूपमा देखिन थालेको छ। स्थानीय गाउँपालिकाले विभिन्न स्थानमा डस्टबिनको व्यवस्था गरे पनि ती भरिने र कतिपय स्थानमा जथाभावी फोहोर फालिने समस्या बढ्दै गएको स्थानीयको भनाइ छ। यसले पर्यटकीय क्षेत्रको सौन्दर्यमा असर पुर्याइरहेको छ।
यस्तै, बुढीचौर पुग्ने सडकको अवस्था पनि सहज छैन। सडक स्तरोन्नति र पूर्वाधार सुधार गर्न सकिए यस क्षेत्रमा पर्यटकको आगमन अझ बढ्ने विश्वास गरिएको छ। पर्यटकको संख्या वृद्धि हुँदा स्थानीय किसान तथा व्यवसायीले उत्पादन गरेका अर्गानिक कृषि उपज र स्थानीय परिकारको बिक्री बढेर स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले बुढीचौरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न फोहोर व्यवस्थापन, सडक सुधार र पर्यटकमैत्री पूर्वाधार निर्माणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्। साथै, यहाँ आउने प्रत्येक पर्यटकले पनि आफूले ल्याएको फोहोर जथाभावी नफाली तोकिएको स्थानमै व्यवस्थापन गर्ने नागरिक दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

समयमै आवश्यक पूर्वाधार विकास, सरसफाइ र व्यवस्थापनमा ध्यान दिन सकिए बुढीचौर मकवानपुरकै मात्र होइन, देशकै आकर्षक आन्तरिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।













