एमाले बाग्मतीको अन्तिम लेखापरीक्षण सम्पन्न, ‘आम्दानी पारदर्शी र खर्च मितव्ययी’

हेटौडा, असोज ५ गते । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रीय लेखा आयोगको तर्फबाट प्रदेश कमिटीको अन्तिम लेखापरीक्षण गरिएको हो।

प्रदेश लेखा कमिटीले आन्तरिक लेखापरीक्षण सम्पन्न गरिसकेपछि केन्द्रीय लेखा आयोगका तर्फबाट अन्तिम लेखापरीक्षण गरिएको प्रदेश कमिटीका उपसचिव तथा वित्त व्यवस्थापन प्रमुख रमेश आचार्यले जानकारी दिए।

लेखापरीक्षण सम्पन्न भएपछि केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कंडेलले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखापरीक्षण प्रतिवेदन हस्तान्तरण गरेका छन्। प्रतिवेदन पार्टीको प्रदेश कार्यालय च्यासलमा हस्तान्तरण गरिएको हो।

लेखापरीक्षणका क्रममा केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र हरिकुमार श्रेष्ठ सहभागी थिए। लेखा व्यवस्थापन प्रणाली, आम्दानी तथा खर्चको अभिलेख र सम्बन्धित कागजातको परीक्षण गर्दा प्रदेश कमिटीको आर्थिक व्यवस्थापन व्यवस्थित रहेको पाइएको आयोगका सदस्य नवीन सिग्देलले बताए।

उनका अनुसार आम्दानीको पारदर्शिता र खर्चमा मितव्ययिता लेखापरीक्षणका क्रममा देखिएका सबल पक्ष हुन्। पार्टीको आर्थिक गतिविधिलाई थप व्यवस्थित र पारदर्शी बनाउन लेखा प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको उनले बताए।

केन्द्रीय लेखा आयोगले अब बाग्मती प्रदेश कमिटी मातहतका जिल्ला तथा पालिका कमिटीहरूको समेत लेखापरीक्षण अघि बढाउने जनाएको छ।

आयोगकी सदस्य शान्ति पाख्रिनले पार्टी जीवनमा आर्थिक अनुशासन, पारदर्शिता र व्यवस्थित लेखा प्रणाली स्थापित गर्न लेखापरीक्षणको महत्वपूर्ण भूमिका रहने बताइन्। उनका अनुसार बाग्मती प्रदेश कमिटीअन्तर्गत रहेका १० जिल्ला तथा महानगरपालिका र उपमहानगरपालिकाको लेखापरीक्षण मंसिर महिनाभित्र सम्पन्न गर्ने तयारी छ।

यसबाट पार्टीका विभिन्न तहमा हुने आर्थिक गतिविधिलाई थप व्यवस्थित, जवाफदेही र पारदर्शी बनाउने उद्देश्य रहेको आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.